पथरी/घटना भएको एघार दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गर्न नसकेको भन्दै जाँतेका सरकारी र संस्थागत विद्यालयहरुले दबावमूलक र्याली गरेका छन् । शुक्रबार वडा बालसञ्जालको आयोजनामा श्रीमावि, टेण्डर बोर्डिङ स्कुल, नमुना बोर्डिङ स्कुल, प्यारागन बोर्डिङ स्कुलका विद्यार्थीहरुले प्रहरी प्रशासन र वडाकार्यालय विरुद्ध र्याली गरेका थिए । श्रीमाविको प्राङ्गणबाट शुरु भएको र्याली मदन चौक, बढौली चोक, देवकोटा चौक हुँदै वडा कार्यालयमा पुगेर विसर्जन गरेको वडा बालसञ्जालका अध्यक्ष प्रितिका भट्टराईले बताइन् । र्यालीमा शिक्षक–शिक्षिकाहरुको पनि सहभागिता रहेको श्रीमाविका शिक्षक सीताराम भण्डारीले बताए ।
अपराधी पत्ता लगाउन जाँतेबासी एकजुट हुनै पर्ने..., विद्यालय व्यवस्थापन समिति तथा अभिभावकले विद्यालयप्रति चासो राख्नुपर्ने, विद्यालयलाई सुरक्षित क्षेत्र बनाउनै पर्छ, अपराधी पत्ता लगाएर कडा सजाय दिनुपर्ने जस्ता माग उल्लेखित प्लेडकार्ड बोकेर वडा नं. ९ को जाँते गाउँ परिक्रमा गरेका थिए । साउन २९ गते बिहान लेटाङ नगरपालिका–९ स्थित जाँतेको श्रीमाविको खानेपानीको ट्याङ्कीमा विषादी लगाएको पानी पिउँदा २९ जना विद्यार्थी बिरामी परेका थिए । तीमध्ये ७ जना सिकिस्त भएका थिए । घटनापश्चात् जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाको संयोजकत्वमा घटनाको अनुसन्धान गर्न टोली गठन गरेको थियो ।
अनुसन्धान टोली गठन गरे तापनि टोलीले दोषी भने अझै पत्ता लगाउन सकेको छैन । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरीले श्रीमाविका परिचर रामकुमार लिम्बू र सोही विद्यालयका केही विद्यार्थीहरुलाई लगेर अनुसन्धान गरेर छाडेको शिक्षकहरु बताउँछन् । इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर योगराज खतिवडाले अनुसन्धान भैरहेको बताएका छन् । अपराधी पत्ता लगाउन दैनिक फिल्डमा अनुसन्धानको लागि जाने र अपराधी छिट्टै पत्ता लाग्ने इन्स्पेक्टर खतिवडाले बताए । उता ‘पानीको ट्याङ्कीमा विषादी’ कसले लगायो भन्ने बारेमा गहिरो अनुसन्धान भैरहेको अनुसन्धान टोलीका संयोजक डिएसपी थापाले बताए ।
उता वडा नं. ९ का वडाध्यक्ष कृष्णप्रसाद लुइटेलले प्रहरीको अनुसन्धान फितलो भएको बताएका छन् । प्रहरीलाई सोध्दा तपाईहरू चुप लागेर बस्नु अपराधी छिट्टै पत्ता लाग्छ भनेर भन्न नछोड्ने वडाध्यक्ष लुइटेलले बताए ।