भद्रपुर/अवैधरुपमा काठ ओसार पसार गरेको आरोपमा गाडी र काठसहित दुइजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । झापाको उत्तरी क्षेत्रबाट सखुवा जातका चिरान काठ लिएर विर्तामोड तर्फ आइरहेको म्याजिक गाडीलाई प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो ।  प्रहरीको टोलीले शङ्का लागि चेकजाँचको क्रममा कागज पत्र नभएपछि मे १ च २४४७ नम्बरको म्याजिक गाडीमा राखिएको ३६ दशमलव ८१ क्यूविक सखुवा काठ र मानिसलाइ बिहीबार विहान नियन्त्रणमा लिएको थियो । कागज पत्र फेला नपरेपछि प्रहरीले दिक्तेल नगरपालिका १ खोटाङ्का का २७ वर्षिय गाडी चालक अमित राइ र झापा भद्रपुर नगरपालिका २ का ६५ वर्षिय तुलसी कटेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बरामद काठको जरिवाना स्वरुप ४१ हजार २ सय २४ को दोब्बर रकम र गाडीको ५० हजार मूल्याङ्कन गरीएको डिभिजन वन कार्यालय झापाका अनुसन्धान अधिकृत कल्याण लम्सालले जानकारी दिए । काठ र गाडीलाइ कनकाइ वन सव डिभिजन कार्यालय सुरुङ्गा पठाइएको र मानिसलाइ डिभिजन वनमा राखिएको अधिकृत लम्सालले जनाए । प्रहरीले बरामद गरेको गाडीसहित सामान र मानिसको विषयमा सोही दिन अदालतबाट पहिलो पटक पाँचदिनको म्याद थप गरी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए । अनुसन्धान पूरा नभएसम्म म्याद थपिने र दोषी ठहरिएमा वन ऐन २०४९ अनुसार कारबाही हुने उनले जनाए ।

एक लाख ७५ हजारको मरिच बरामद भन्सार छलेर अवैध बाटो प्रयोग गरी भारत तर्फ लैजादै गरेको एक लाख ७५ हजार मूल्य बरावरको मरिच प्रहरीले बरामद गरेको छ । झापाको वाहुनडागीबाट शुक्रबार साँझ साइकल तथा मोटरसाइकलमा राखेर लैजादै गरेको अवस्थामा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्लाका डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले दिएको जानकारी अनुसार चार साइकल र भारतीय डब्लू बी ७४ एजे १६६५,डब्लू बी ७४ टी ६२१२ र नेपालको मे १ प ९१२१ नम्बरको मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएको मरिच साढे तीनसय किलो रहेको जनाएको छ । समानलाइ आइतबार मेची भन्सार कार्यालय काकँडभिट्टा बुझाइने बस्नेतले जानकारी दिए ।