बेलबारी । सरकारले धुम्रपान तथा मध्यपानलाई सार्वजानिक क्षेत्रमा निषेध गर्ने नीति बनाए पनि कार्यान्वयनमा ल्याउन सकेको छैन । अहिले मोरङको बेलबारीमा रहेको टोल विकास समितिले भने धुम्रपान निशेधित क्षेत्र घोषणाको कार्यक्रम थालनी गरेको छ । बेलबारी नगरपालिका वडा नं. ३ मा रहेको सुन्दरटोल विकास समितिले शुक्रबार एक कार्यक्रम गरि धुम्रपान तथा मदिरा पान निशेधित क्षेत्र घोषणा गरेको हो । स्थानीय टोल विकास समितिको पहलमा पसलेहरु संग सुर्ती जन्य र मदिरा पान नबेच्ने सहमती गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नगरपालिकाका उपप्रमुख ढाका पराजुलीले टोलका उक्त पसलहरुमा मदिरा निशेधित पसल लेखिएको स्टीकर टासेर कार्यक्रमको उद्घाटन गरेका थिए । अभियानमा साथ दिने पसलेहरुलाई कार्यक्रममा सम्मान व्यक्त गरिएको थियो । कार्यक्रममा बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदी, आदिवासी जनजाति महासंघका अध्यक्ष तिलक प्रसाद राई , ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी सहायक निरीक्षक महेन्द्र पराजुली, टोल समितिका सदस्य सकुन्तलाले टोलले गरेको सुधारको कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रम समितिका अध्यक्ष खनेन्द्रकुमार राईको सभापतित्वमा सम्पन्न भएको थियो ।