संखुवासभा । संखुवासभा र धनकुटाको हिले जोड्ने संखुवासभा–हिले सडकखण्डमा वर्षायाममा यात्रुहरूलाई समस्या भएको भन्दै सडकको स्तरोन्नति गरिने भएको छ । यो सडकखण्ड स्तरोन्नती कार्यलाई तिव्रताको लागि सडक आवतजावत दैनिक ९ घण्टा बन्द गरिने भएको छ । सदरमुकाम खाँदबारीको तुम्लिङ्गटार हुदै धनकुटाको हिले निस्कने सडकखण्ड अन्तर्गत सभाखोला देखि सातटारे सम्मको सडक तीन मिटरको मात्रै भएको र यातायात संचालनमा समस्या भएको भन्दै सडक चौडा पारिने भएको हो । सडक चौडा गर्नका लागि बुधबार देखि दैनिक ९ घण्टा यातायात बन्द गरेर काम सुचारु गरिएको निर्माण कम्पनी रौताहा सन्तोसी जेभीले जनाएको छ ।

सडकको चौडा सानो हुँदा यातायात सञ्चालनमा समस्या भएकाले दैनिक बिहान ६ बजे देखि ११ बजे सम्म र दिउँसो २ बजे देखि बेलुकी ६ बजेसम्म सडक चौडा पार्ने काम सुचारु गर्नका लागि सरोकारवाला सबैमा जानकारी गराई काम सुरुवात गरिएको तुम्लिङ्गटार सडक डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख त्रिलोकनाथ घिमिरेले बताए । सडक स्तरोन्नतिको समयमा वैकल्पिक मार्ग सभाखोलादेखि खराङ्ग हुँदै पिलुवा निस्कने सडक प्रयोग गर्न जिल्ला प्रशासनसंग अनुमति मागेको समेत डिभिजन प्रमुखले जानकारी दिए । बुधबारबाट शुरु भएको सडक चौडा गर्ने काम भाद्र मसान्तसम्म एक महिना लाग्ने उनले जनाकारी दिए । यो संखुवासभाबाट धरान, धनकुटा, बिराटनगर र काठमाडौं जाने मुख्य सडक हो ।