पानवारी । सेवक अभियानले शुरु गरेको स्वास्थ्यको लागि पदयात्रा ५० औं हप्तामा पुगेको छ । प्रत्येक शनिबार धरान–२ स्थित सिंहदेवी चोकबाट शुरु हुने पदयात्रा धरान उपमहानगरपालिकाको पहाडी क्षेत्रमा रहेका गाउँ निशान डाँडा, देवीगाउँ, पत्रङ्बारी, शिवजट्टालगायतका गाउँमा पुग्ने गरेको छ । शनिबार ५० औं हप्ता पुगेको अवसरमा १ नं. प्रदेशका सभामुख प्रदीप भण्डारी, सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद्हरु चन्द्रप्रसाद श्रेष्ठ र उमिता विक, धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी लगायत सयौं धरानेहरु पदयात्रामा निस्केका थिए । सधैँ झैं धरानको सिंहदेवी चोकबाट निस्किएको पदयात्रा छाताचोक, भानुचोक, सदन स्कुलहुँदै धरान–५ स्थित झोरापाटा, जलकन्यादेवीको मन्दिरहुँदै कुलुङ राईहरुको धार्मिक वन लभ डाँडाहुँदै देवीगाउँबाट पुनः धरान–१५ स्थित बसपार्कमा आइपुगेर समापन भएको थियो । प्रदेश सरकारले २०७५ साललाई स्वास्थ्य प्रवद्र्धन वर्षको रूपमा मनाइरहेको भन्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले शरीरमा कुनै प्रकारको रोग लाग्न नदिनको लागि अग्रिम रूपमा सचेत हुनुपर्ने बताए । उनले प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै शारीरिक व्यायाम, योगा, पदयात्रा, मर्निङ वाकलगायत विभिन्न खेलकुदमा सरिक भएर आफ्नो शरीरलाई फिट राख्न चेतना फैलाइरहेको बताए । उनले यसअघि योग दिवसमा वराहक्षेत्रस्थित चतरामा पुगेर योगको प्रवद्र्धन गरेको समेत स्मरण गरेका थिए । सभामुख प्रदीपकुमार भण्डारीले धराने जनता आफ्नो स्वास्थ्यप्रति अत्यन्तै सचेत रहेको बताएका थिए । उनले आफू पनि नियमित मर्निङ वाकमा निस्कने गरेको स्मरण गर्दै धरानका धेरै नागरिक पदयात्रा, धरान रन, मर्निङ वाक, योगा, जिम जानेलगायत ब्याडमिन्टन, फुटबल र फुटसल जस्ता खेल खेलेर पनि आफूलाई फिट राख्दै आएको बताए । उनले स्वास्थ्यको लागि पदयात्रा भनेर सेवक अभियानले शुरु गरेको पदयात्राको निरन्तरताको कामना समेत गरेका थिए । सेवक अभियानका प्रमुख अभियन्ता राजीव हलवाईले पछिल्लो समय पदयात्रामा निस्कने सहभागीहरूको संख्या बढ्दै गएको बताउँदै स्वास्थ्यप्रति नागरिकमा चेतना बढेको बताए । उनले अहिले मानिसहरु दुई पाइला हिँड्न नसक्ने र सुविधाभोगी भएको भन्दै पदयात्राले मानिसलाई हिँड्ने बानीको समेत विकास गर्ने बताए । उनले आफ्नो शरीरको तौललाई सन्तुलनमा राख्न, शरीरलाई फुर्तिलो राख्नुको साथै शहरी कोलाहलबाट एकछिन भए पनि मुक्त पार्न पदयात्राले सहयोग पु¥याउने बताए । सेवक अभियानले शुरु गरेको पदयात्रा ५० औं हप्तामा प्रवेश गरेको अवसरमा पदयात्रामा मितेरी बैङ्कका सिइओ तुलसीप्रसाद वस्ती, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य वासुदेव गौतम, मेरिल्याण्ड स्कुलका विद्यार्थीहरूलगायतको सहभागिता रहेको थियो ।