इनरुवा । जिल्ला अस्पताल इनरुवा सुनसरीको सेवा प्रभावकारी बन्दै गएको छ । अस्पतालमा विभिन्न नयाँ उपकरणहरू ल्याएको र अनुभवी डाक्टरहरू आएका कारणले सेवा प्रभावकारी बन्दै गएको स्थानीय बताउँछन् । अस्पतालमा रहेको एक्सरे सेवा, भिडियो एक्सरे सेवा, ल्याब सेवालगायतका सेवाहरू प्रभावकारी बन्दै गएको सेवाग्राही मुकेस मेहताको भनाइ छ । अस्पतालमा आवश्यक परेको बेला डाक्टरहरूले सेवा प्रदान गरेका कारण सेवाग्राहीले सुलभ सेवा पाउन थालेका छन् । अस्पतालमा एक महिनामा ५ सय जनाले भिडियो एक्सरेको सेवा लिएको अस्पतालका मेसु डाक्टर बिना शाक्यले जानकारी दिइन् । अस्पतालमा असार २० गतेदेखि साउन २० गते सम्ममा ५ सय जनालाई सेवा प्रदान गरेको शाक्यले बताइन् । अस्पतालमा भिडियो एक्सरे गर्दा शुल्क पनि कम लाग्ने, सरल र भरपर्दाे सेवा पाउने भएकाले भिडियो एक्सरे गर्नेको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । अस्पतालमा बढी मात्रामा गर्भवती महिलाहरूले भिडियो एक्सरे सेवा लिएको डाक्टर शाक्यले बताइन् । अस्पतालमा आफू आएदेखि नियमित रूपमा आवश्यक परेको बेला सेवा प्रदान गर्ने गरेको समेत डा. शाक्यले बताइन् ।