भद्रपुर । चैते र गर्मा धान खेती गर्ने कृषकलाइ प्रतिफलका आधारमा प्रोत्साहन अनुदानवापत ३ लाख ७१ हजार तीनसय २७ रुपैयाँ संस्था मार्फत हस्तान्तरण गरिएको छ । नौलो भबिष्य साना किसान सहकारी संस्था लिमिटेड कचनकवल ६ बनियानीसँग आवद्ध कृषक सदस्यहरु लाई प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना धान सुपरजोनले अनुदान रकम हस्तान्तरण गरेको हो ।

कचनकवल गाउँपालिका अध्यक्ष अन्जार आलमको प्रमुख आतिथ्यतामा धान सुपरजोन सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराइलाइ हस्तान्तरण गरिएको थियो ।

गर्मा र चैते धान खेती क्षेत्र विस्तार, यान्त्रिकरण र कृषकहरुको अनुहारमा खुसी ल्याउन तर्फ सबै जनप्रतिनिधिहरु को चासो र सकारात्मक सहयोगले धान खेती सफल बन्दै गएका सुपरजोन प्रमुख मेघनाथ तिमल्सेनाले बताए ।

बिस्तारै चैते धान खेती क्षेत्र विस्तार हुने सम्भावना बढदै गएकोले उनले बताए । सरकारी सहयोगबाट धान मिल र उद्दोगपतिहरुलाइ ड्रायर(सुख्खा मेसिन) सुविधाहरु निर्माण र थप गर्न सहयोग गरि वर्षाको समयमा उत्पादित धान स्टिम राइस बनाउने मिलहरुलाइ बिशेष सहुलियत दिन सके यो काम पुरा गर्न सकिने उनको धारणा छ ।

चैते धानवालीको पहिले न्युनतम समर्थन मूल्य तोक्नु जरुरी रहेको उनले जनाए किनकि चैते धान यतिमा कम्तीमा बिक्री हुन्छ भन्ने भएपछि ढुक्क भएर किसानहरू समयमै धान को ब्याड राख्ने वा नराख्ने भन्ने टुङ्गोमा पुग्ने उनको भनाइ छ ।

यान्त्रिकरण केहि शुरुवात भएकोले सामूहिक र चक्लाबन्दी खेती अवको आवश्यक्ता रहेको उनको भनाइ छ । जमिनको भू–स्वामित्व, खण्डिकरण, बैकल्पिक रोजगारीको अवसर, खाद्यान्न बाली उत्पादनबाट लागत खर्च पनि नउठ्ने भन्ने धारणा, खेती नगरे पनि वा थोरै फले पनि पुगि हाल्छ भन्ने सोच, चक्लाबन्दी गर्न पनि अनुदान चाँहियो भन्ने सोच, कृषि फर्म र कृषि कम्पनीहरु खाद्यान्न बाली उत्पादन तर्फ कम मात्रै लागि परेका लगायतका कारणले सहकारी संस्थाको नेतृत्व मा सामूहिक अवधारणा अनुरूप चक्लाबन्दी खेती गर्नु प्रभावकारी हुने उनले बताए यो वर्ष कृषि सहकारी ,समूह लगायतले ६ सय ६५ विगाहामा चैते र गर्मा धान खेती लगाएका थिए । प्रोत्साहन स्वरुप आर्थिक वर्षमा साढे २४ लाख रकम कृषकलाइ वितरण गरिने भट्टराइले जानकारी दिए ।