पथरीशनिश्चरे/ स्थानीय तहले वृद्धि गरेको करका बारेमा अनेक टिप्पणी भएपछि केही नगरपालिकाले निःशुल्क करको प्रावधान थप्दै कर नीतिमा संशोधन गरेका छन् । झापाको दमक नगरपालिकाको भदौ ३ गतेको कार्यपालिका बैठकले ८ शीर्षकमा सेवाग्राहीलाई निःशुल्क सेवा दिने निर्णय गरेको छ । नगरपालिकाले व्यक्तिगत घटना दर्ता अन्तर्गत जन्म, मृत्यु, विवाह, वसाईं सराई र सम्बन्ध विच्छेदलाई निःशुल्क गर्ने निर्णय गरेको छ । ती घटनाको ३५ दिनको समय कटेपछिको दर्तामा भने ५० रुपैयाँ जरिमाना गर्ने निर्णय भएको छ । सामाजिक सुरक्षा भत्ता परिचय–पत्र तथा हकवाला सम्बन्धी सिफारिस, अपाङ्गता सम्बन्धी परिचय–पत्र तथा सिफारिस, ज्येष्ठ नागरिक परिचय–पत्र तथा सिफारिस निःशुल्क गर्ने निर्णय भएको नगर उपप्रमुख गीता अधिकारीले जनाइन् ।

बैठकले छात्रवृत्ति, विपन्नता, असहाय तथा आर्थिक अवस्था कमजोर भएकाको सिफारिस, क्यान्सर, मुटुरोग, मृगौला समस्यामा औषधि उपचारसम्बन्धी सिफारिस निःशुल्क गर्ने निर्णय भएको उनले सुनाइन् । वडा कार्यालयबाट दमक नगरपालिकामा गर्ने सिफारिसमा पनि शुल्क लिन नपाइने प्रावधान बनाएको छ । दलित परिवारलाई त बच्चा जन्मँदा प्रोत्साहन स्वरुप १ हजार भत्ता उपलब्ध गराउने राहतको निर्णय थपेको छ । त्यसखाले प्रोत्साहनका लागि बच्चा जन्मिएको ३५ दिनभित्र जन्म दर्ता गराइसक्नु पर्छ । ‘आफ्नो ठाउँको विकास त स्थानीयकै करको सहयोग र सहकार्यमा गर्ने नीति हो, तर आयस्तरमा कमजोर नगरवासीलाई राहत प्रदान गर्न यसखाले कार्यक्रम ल्याइएको हो ।’ उपप्रमुख अधिकारीले भनिन् ।नगर प्रमुख रोमनाथ ओलीले स्कुल बस र शव वहानलाई करमा छुट दिएको बताए । तोकिएको अवधिमा कानूनी प्रक्रियामा आउने नागरिकले थप सुविधा पाइरहेको भन्दै उनले सुत्केरीलाई २ हजार सुविधा दिन थालिएको उल्लेख गरे ।

यता, मोरङको सुन्दरहरैंचा नगरपालिकाले विभिन्न १५ वटा शीर्षकमा कर संशोधन गरी निःशुल्क बनाएको छ । नगरपालिकाले जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, पञ्चेबाजा दर्ता, बसाईंसराई, अपाङ्गता भएकाहरूको सिफारिस, सम्बन्धविच्छेद निःशुल्क गर्ने पछिल्लो निर्णय गरेको छ । वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिको सिफारिस, अल्पसङ्ख्यक, दलित, गरिब, पिछडावर्गका लागि नागरिकता सिफारिस, आगलागी राहत सिफारिस, कृषिमा आधारित सहकारी, शव वाहन, वारुण यन्त्र, सबै प्रकारका अनुसूची फारम र नगरका १२ वटै वडामा इन्टरनेट सेवा निशुल्क गर्ने निर्णय गरिएको नगरपालिका प्रमुख शिवप्रसाद ढकालले जनाए । उनले महिलाका नाममा दर्ता भएका व्यवसायमा २० प्रतिशत, विद्यार्थीका लागि गरिने सबै सिफारिसमा ५० प्रतिशत र २५ लाखसम्मका उद्योगको सिफारिसमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको पनि उल्लेख गरे ।

जनताको भावनाको कदर गर्दै गरिबीको रेखामुनी रहेका नगरवासीलाई मध्यनजर गरेर यसखाले सेवा ल्याएको नगर प्रमुख ढकालको भनाइ छ । उर्लाबारी नगरपालिकाले पनि करमा भारी छुट दिने निर्णय गरेको छ ।