विराटनगर/बचतकर्ताको करोडौं रकम प्रबन्धक तथा सचिव ईश्वर श्रेष्ठले पाँचवटा उद्योगमा लगानी गरेको खुलेको छ । विराटनगर–९ बाटारोडस्थित प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेडमा जम्मा भएको बचतकर्ताको करोडौं रकम विभिन्न उद्योगमा लगानी गरेको खुलेको हो । श्रेष्ठले विराटनगरदेखि पोखरासम्मका उद्योगमा लगानी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मोरङ प्रहरीको विशेष टोलीले साउन १९ गते पोखराबाट पक्राउ गरेपछि बयानका क्रममा यस्तो खुलासा भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । सञ्चालक श्रेष्ठले विनायक प्रिन्टरमा एक करोड रुपैयाँ लगानी गरेको प्रहरीले जनाएको छ । पोखरास्थित लोटस फुड प्रोडक्टसमा ८५ लाख, विराटनगस्थित न्यू विराट अटो वल्र्डमा ८ लाख ५० हजार, अल राइट फुड प्रोडक्ट प्रालिमा तीन लाख, जिरे खोर्सानी नामक होटलमा ५ लाख रूपैयाँ लगानी गरेको प्रहरी समक्ष उनले बयान दिएका छन् । श्रेष्ठले सहकारीको झण्डै १ करोड रकम विभिन्न मितिमा आफन्तलाई समेत बाँडेको प्रहरीले जनाएको छ । उनले भाइ अरुणलाई ३१ लाख, अनिललाई ८ लाख, वसन्तलाई ५ लाख, बुबा हरिभक्तलाई ५ लाख, बहिनी कोपिलालाई करिब ७ लाख रुपैयाँ दिएको बयानमा बताएको प्रहरीले जनाएको छ । उनले बचतकर्ताको पैसा तिर्न मिटर ब्याजमा समेत ऋण लिएका छन् । मिटर ब्याज दिनेहरूको पैसा तिर्न नसक्दा सहकारीमा तालाबन्दी गरेको छ । बचतकर्ताको ८ करोड १८ लाख २३ हजार ६ सय ६२ रुपैयाँ बचत गरेको र शेयर बापतको ९२ लाख ९२ हजार ८ रुपैयाँ गरी कुल ९ करोड ११ लाख १६ हजार ४ सय ६२ रूपैयाँमध्ये करिब एक करोड ७५ लाख रूपैयाँ ऋण लगानी गरेको उनले बयान दिएका छन् । सहकारीको रकम अपचलन गर्ने प्रमुख इन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष विष्णुप्रसाद सुवेदी र प्रबन्धक ईश्वरलाई पक्राउ गरेको थियो । मोरङका एसपी मनोजकुमार केसीका अनुसार ईश्वर र विष्णुप्रसादलाई पोखराबाट र इन्द्रलाललाई विराटनगरबाट पक्राउ गरेको थियो । उनीहरूलाई ठगी अन्तर्गत मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को परिच्छेद ३ को दफा ३२ अन्तर्गत दायर गरेको अभियोग पत्र सरकारी वकिलको कार्यालयलाई बुझाएपछि बिहीबार अदालतमा मुद्दा दर्ता गरेको छ । उनीहरूलाई ठगी अन्तर्गत मुद्दा दर्ता भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । सरकारी वकिलको कार्यालयले पक्राउ परेका तीन जनासहित अन्य ९ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । प्रतिवादीहरूको बयान बिहीबारदेखि जिल्ला न्यायाधीश दीपक खनालको ५ नम्बर इजलासमा बयान शुरु भएको श्रेस्तेदार दुलालले जानकारी दिए । ३ करोड ९७ लाखको बिगो दाबी सहकारीका २ सय ६८ जना बचतकर्ताले ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ बिगो माग दाबी गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए । सहकारीमा एकजना बचतकर्ताको २२ लाख रूपैयाँ भन्दा बढी जम्मा गरेको पाइएको छ ।