बेलबारी/ बलात्कारको घटनाले अखबार र सामाजिक सञ्जाल भरिरहेको बेला फेरि मोरङकी एक बालिका बलात्कारको शिकार बनेकी छिन् ।

गरिबीको कारण घरमा काम सघाउन काठमाण्डौं हिडेकी मोरङ केराबारी ९ की एक बालिकालाई काठमाण्डौं लाने व्यक्तिले नै बाटैमा बलात्कार गरेको खुल्न आएको छ । साधरण लेखपढ गर्न मात्र सक्ने बालिकाले ठूलो घरपरिवारमा काम गर्दा राम्रै हुन्छ भन्ने मनसायले आमाले पनि उनलाई काठमाण्डौ पठाएका थिए । बालिकाको घरको कमजोर अवस्था भएकै कारण कतै भविष्य बन्छ की घर सल्लाहमा काठमाण्डौ जादै गरेकी थिईन् । तर काठमाण्डौ नपुगी बालिका माथि बीच बाटैमा बलात्कार भएपछि बालिकाको सपना पनि चकनाचुर भएको छ । घटना विवरण अनुशार काठमाण्डौ निवासी राजेन्द्र श्रेष्ठले अभिभावकको सहमति मै बालिकालाई काठमाण्डौमा लान आटेका थिए । अन्दाजी ६० वर्षिय श्रेष्ठको श्रीमती दुर्घटनामा परेर काम गर्न नसकेपछि बालिकालाई घरकाम गर्न काठमाण्डौ लान लागेका थिए । मोरङ केराबारी ९ घंघरुमा श्रेष्ठका आफन्तहरु भएका कारण त्यहाँ आउने जानेक्रममा बालिकाका आमासंग भेट भएको थियो । सोही क्रममा बालिकाका परिवारसँग कुराकानी गरेर श्रेष्ठले काठमाण्डौमा रहेको आफ्नो घरमा काम गर्न लागि बालिकालाई लिएर गएका थिए । बालिकाको आमाले पनि हुर्कदै गरेकी छोरीलाई सोधेर नै श्रेष्ठको जिम्मामा काठमाण्डौ पठाएका थिए ।

उमेरले १६ वर्ष लाग्दै गरेको बालिकालाई श्रेष्ठले यहि भदौ १३ गते सुन्दरहैंचा स्थित उनको माईला भाईको घरमा राखे । भोलिपल्ट उनले बालिकालाई मोटरसाईकलमा राखेर काठमाण्डौ तिर लागे । पीडित बालिकाले दिएको जानकारी अनुशार बालिकालाई ईटहरी देखि पश्चिम लागेपछि श्रेष्ठले यौनजन्य कुराकानी गर्न थालेको बताएकी छिन् । ‘बालिकालाई श्रेष्ठले तिम्रो मिन्स् भएको छ छैन , जस्ता कुरा सोधेको बालिकाले बताएकी छिन् । त्यसैगरी उनीहरु जब बर्दिबास पुगे श्रेष्ठले मेरो छोरीको घर छ भनेर बालिकालाई बाटैमा राखे । अनि उनी होटल भित्र छिरे । करिब आधा घण्टा पछि आएर आफूलाई लिएर गएको बालिकाले बताईन् ।

उनले कोठामा लगेपछि जबरजस्ती करणी गरेको बालिकाले बताएकी छिन् । बलात्कार पछि श्रेष्ठ कोक किन्न बाहिर निस्केको मौका छोपेर श्रेष्ठकै व्यागमा रहेको तीन हजार पैसा निकालेर भाग्नलाई बाहिर निस्किन् । तीन हजारले नपुग्ने भएपछि फेरि भित्र पसेर एक हजार लिन आईन् । र, उक्त रकम लिएर बालिका वसस्टैण्ड तर्फ आईन् ।

उता कोठाबाट बालिका भागेपछि श्रेष्ठले पनि मान्छे खोजी गरिपाउँ भनि बालिकाको हुलिया सहित प्रहरीमा रिर्पोट लगत्तै गरे । सोही क्रममा बालिकालाई गाडी चढ्दै गर्दा ट्राफिक प्रहरीले भेट्टाएका थिए । ट्राफिकले बालिकालाई सोधपुछ गर्न थालेपछि आफूलाई खोज्ने मान्छेले बलात्कार गरेको जानकारी गराएका थिए । त्यसपछि प्रहरीले तपाईको मान्छे फेला पर्यो भनि श्रेष्ठलाई फोन गरेर इलाका प्रहरी कार्यालयमा बोलाए । सोही क्रममा उनी पक्राउ परेको ईलाका प्रहरी कार्यालय बर्दीवासका प्रहरी निरीक्षक प्रधुन्न अधिकारीले बताए । घटना पश्चात मोरङबाट बालिकाका आमा पुगेर प्रहरीमा जाहेरी दिएका छन् । श्रेष्ठ विरुद्ध जबरजस्ती करणीको अभियोगमा मुद्धा दायर भएको प्रहरी निरीक्षक अधिकारीले बताएका छन् । घटना बर्दीवासमा भएको हुँदा यसैठाउँको प्रहरीले मुद्धा हेर्ने प्रहरीले बताएको छ । पीडित बालिकालाई ओरेक नेपालले संरक्षण दिने तयारी गरिरहेको ओरेक नेपाल निर्मला राईले बताईन् ।