उर्लाबार । मास कन्भर्सन डिस अर्डर (मास हिस्टेरिया) ले अस्त–व्यस्त भएको उर्लाबारी–१ स्थित शारदा माध्यमिक विद्यालयको शैक्षिक वातावरण क्रमिकरूपमा सामान्य बन्दै आएको छ । एक साताअघि केही विद्यार्थीहरूले अनौठो किसिमबाट चिच्याउने, कराउने र अनौठो किसिमका व्यवहार देखाएपछि आतङ्कित बनेको सो विद्यालयले दुई दिनसम्म विद्यालय बन्द गरेको थियो । कक्षा ८ र ९ का एक दर्जन छात्र–छात्रामा उक्त समस्या देखिएपछि विद्यालय प्रशासनले बिरामी भएका विद्यार्थीहरूलाई अस्पताल पु¥याएर उपचारदेखि विद्यालयमा धामी–झाँक्रीसमेत लगाएर स्वस्ती–शान्ति गराएको छ । विद्यार्थी साथीहरूमा आएको समस्या देखेर अन्य विद्यार्थीहरू पनि डराएर विद्यालय आउने विद्यार्थीहरूको संख्या क्रमिक रूपमा घट्न थालेपछि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बिहीबार विद्यालय पुगेर शिक्षकहरूसँग परामर्श र सबै कक्षामा पुगेर विद्यार्थीसँग साक्षात्कार गरी मनोबल बढाउने कार्य गरेका छन् । नगरपालिकाको पहलमा बहुसांस्कृतिक मनोसामाजिक संस्था (टिपीओ) दमकले विद्यालयमा मनोविमर्श शुरु गरेको छ । सो संस्थाका वरिष्ठ मनोविमर्शकर्ता गोविन्द कट्टेलको नेतृत्वमा आधा दर्जनको संख्यामा आएका मनोविमर्शकर्ताहरूले क्रमिक रूपमा शिक्षक, अभिभावक र विद्यार्थीहरूसँग मास कन्भर्सन डिसअर्डर (मास हिस्टेरिया) का विषयमा जानकारी दिने, कसरी बच्ने तथा रोकथामका विषयमा मनोविमर्श अभियान शुरु गरेको विद्यालयका शिक्षक छत्रप्रसाद अधिकारीले बताएका छन् । वरिष्ठ मनोविमर्शकर्ता गोविन्द कट्टेलले कक्षा ८ देखि १० सम्मका १५ वर्ष उमेर समूहका विद्यार्थीहरूमा हर्मोन परिवर्तनको समयावधि, घरको शैक्षिक वातावरण, अध्ययनको चाप आदि कारणले मास कन्भर्सन डिसअर्डरलगायतका समस्या आएको बताउँदै केही दिनका अवस्था सामान्य हुने दाबी गरेका छन् । उता नगरपालिकाका मेयर फागोले विद्यालयमा कुनै स्वास्थ्य समस्या आउन नदिन स्वास्थ्य शाखाका प्रमुख तोयानाथ घिमिरेलाई आवश्यक समस्या समाधानको लागि सबै विधि अपानाउन निर्देशन दिएका छन् भने शिक्षकहरूलाई पनि सहजीकरणतर्फ लाग्न सुझाव दिएका छन् । सो विद्यालयका अधिकांश विद्यार्थीहरूले मेयर फागोसँग शुरुमा केही दिन डर लागेको भए पनि विस्तारै त्यो डर र त्रास हटेपछि विद्यालय आउन थालेका बताएका छन् ।