‘मामु–मामु एसपालिको छुट्टीमा हामी मामाघर जाने है’ मलाई हजुरबासँग घुम्न जान मज्जा लाग्छ ।’

नरेशले आमासँग आफ्नो मनको कुरो भन्यो । आमा ले पनि ‘हुन्छ’ भन्नुभयो । नरेश पनि खुशी हुँदै मामाघर जाने दिन कुरेर बस्न थाल्यो । स्कुलको छुट्टी शुरु भयो । आमा र नरेश पहिले प्लेन र त्यसपछि बसमा चढेर मामाघर जानुभयो । मामाघरमा नरेश आएको देखेर सबैजना खुशी हुनुभयो । हजुरबा र नरेश दिनभरि गाउँ घुम्नुहुन्थ्यो, डाँडातिर जानुहुन्थ्यो, कहिले खोलामा पौडी खेल्नुहुन्थ्यो, कहिले नजिकैको झाडीमा गएर ऐंसेलु टिपेर खानुहुन्थ्यो । एकदिन हजुरबा बाथरुम गएर ब्रस गर्दै गरेको नरेशले देख्यो । ऊ अलिअलि डरायो पनि । हजुरबा हातमा दाँत लिएर ब्रस गर्दै हुनुहुन्थ्यो । उसले हजुरबालाई ‘मुख आँ गर्नुस् त’ भन्यो । हजुरबाको ओठ अलिभित्र छिरेको थियो, नरेशले हजुरबाको मुखमा दाँत देखेन । ‘यो के भ’को ?’ अरु सबैको मुखमा त दाँत छ । नरेशले हजुरबालाई सोध्यो, ‘यस्तो कसरी हुन्छ ?’ हजुरबाले दाँत कमजोर हुने धेरै कारणमध्येको एक प्रमुख कारण भन्न थाल्नुभो, ‘म सानो हुँदा धेरै चकलेट खान्थेँ, घरमा भेट्न आउनेहरू सबैले क्याटबरी ल्याउनुहुन्थ्यो ।’ ‘म फिजी ड्रिङ्क पनि धेरै खान्थेँ । जुस पनि मुखमा लिई लिई पिउँथेँ ।’ तर म यी सबै खाएपछि कहिल्यै मुख कुल्ला गर्दिनथेँ । त्यसले गर्दा मेरो दाँतको गिँजा कमजोर भयो र बेला नहुँदै सबै दाँत झर्यो । ल हेर त मुखमा दाँत नहुँदा कस्तो नराम्रो देखिन्छ । सबैजनाले जिस्काउँछन् पनि । हजुरबाले नरेशतिर फर्केर देखाउनुभयो । हातमा लिएको नक्कली दाँत देखाउँदै ‘एसलाई डेन्चर भन्छन्’ भन्नुभयो ।

नरेश दौडेर कोठामा गयो र मामासँग रिसाउँदै हिजो चकलेट किन्न दिएको ५०० रुपैयाँ फिर्ता दियो ।