चितवन/ गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको छ । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आइतबार उक्त फैसला गरेको हो ।

अदालतका श्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार फैसलामा न्यायको मान्य सिद्धान्त र प्रमाण तथा ऐनको दफा २५ को दायित्व नेपाल सरकारले गर्न नसकेको मुद्दामा कानूनी रूपले प्रमाण अभाव देखिँदा दाबी स्थापना हुनसक्ने आधार एवम् कारण नदेखिएको उल्लेख छ । फैसलामा भनिएको छ, ‘अभियोग लगाउँदैमा, मुद्दा अदालतमा दायर गर्दैमा अभियोग प्रमाणित हुने नदेखिँदा आरोपित प्रतिवादीउपरको जन्मकैद गरी पाऊँ भन्ने वादीको दाबी पुग्ने वस्तुनिष्ठ आधार देखिँदैन । ‘प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको भन्ने शङ्कारहित प्रमाणबाट माग दाबी पुष्टि हुन आएको नदेखिँदा आरोपित कसूरबाट सफाइ हुने ठहर्छ, फैसलामा भनिएको छ । घटनाका प्रतिवादी गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीले सफाइ पाएका हुन् ।