तेह्रथुम/मध्यपहाडी लोकमार्गअन्तर्गत म्याङ्लुङ–सङ्क्रान्ति सडक–खण्डको खोरुङ्गा खोलामा पक्की पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेपछि यात्रुलाई सास्ती भएको छ । एक वर्षभित्र काम सक्ने गरी पुल निर्माणका लागि टेण्डर गरी ०७३ सालमा कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिलाई कामको जिम्मा दिइएको थियो । ०७४ पुषभित्रै काम सम्पन्न गर्न भनिए पनि सो निर्माण सेवाले हालसम्म पनि पुल निर्माणको काम नथालेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पुल निर्माणका लागि अनुमानित लागत ५ करोड ९० लाख १ हजार रुपैयाँ तय गरेकोमा ४ करोड ९६ लाख ९१ हजार ६ सय ४५ रुपैयाँमा काम गर्ने गरी कोशी एण्ड न्यौपानेले जिम्मा लिएको छ । निर्माण कम्पनीले पुल निर्माणका लागि पूर्वाधार तयार गर्ने कामसमेत शुरुवात मात्रै गरेको छ । पुल निर्माणमा अहिलेसम्म ५ प्रतिशत भौतिक प्रगति मात्रै रहेको लोकमार्ग पूर्वी खण्डका इञ्जिनियर सुरेश तुम्बाहाम्फेले बताए । पक्की पुल निर्माण नभएपछि मध्यपहाडी लोकमार्गअन्तर्गत सदरमुकाम म्याङ्लुङ जोड्ने खोरुङ्गा खोलाको झोलुङ्गे पुलबाटै मोटरसाइकल तार्ने गरिएको कारण सो झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ ।
करिब तीन दशकअघि निर्माण गरिएको उक्त पुल जीर्ण भएपछि पैदल यात्रीका साथै मोटरसाइकल सवार यात्रुलाई समेत आवत–जावत गर्न कठिनाइ भएको खाम्लालुङ निवासी मोटरसाइकल चालक यामनाथ दाहालले बताए । खोलामा पानीको बहाव बढेसँगै वर्षायाममा कुनै पनि सवारी साधन नचल्ने यातायात व्यवसायी बताउँछन् । खोलामा मोटरसाइकल तार्न पानीको बहावले समस्या हुने भएकाले बाह्रै महिना झोलुङ्गे पुलबाट दैनिक दुई दर्जन बढी मोटरसाइकल वारिपारि तार्ने गरेको स्थानीय होटल व्यवसायी बमबहादुर लिम्बूले बताए । पैदलयात्री तर्ने साँघुरो सो झोलुङ्गे पुलमा केही मोटरसाइकल अड्किएर सवारी चालक घाइतेसमेत भएका छन् । बाह्रै महिना झोलुङ्गे पुलबाट स्थानीयले जोखिम मोलेरै मोटरसाइकल तार्ने गरेका कारण पुल जीर्ण बन्दै गएको हो । झोलुङ्गे पुलमा प्रयोग गरिएका काठ पनि पुराना भई घामपानीका कारण मक्किएर जोखिम बढेको छ । पुलको छेउमा राखिएको जाली समेत च्यातिएकाले यहाँ हिँड्ने बटुवामा पनि जोखिम बढेको छ । म्याङ्लुङ नगरपालिका र फेदाप गाउँपालिकाको सीमानामा रहेको खोरुङ्गा खोलाको पक्की पुल निर्माण कार्यमा सरोकारवाला सम्बन्धित सबैको ध्यान जानु जरुरी रहेको स्थानीय बताउँछन् ।
पूर्वमा पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाट जोड्ने निर्माणाधीन लोकमार्गमा पर्ने अधिकांश खोला नदीमा मोटरेबल पुल भने निर्माण भएको छैन । कतिपय ठाउँमा निर्माण कार्य शुरु गरिए पनि अलपत्र अवस्थामा छोडिएको छ । सडक बन्यो तर पुल नबन्दा सडक प्रयोगविहीन अवस्थामा छन् ।