पथरी/पथरी बजार स्थित अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.पथरीशनिश्चरे–१ मोरङले शनिबार तीज पर्वको दरखाने अवसर पारेर विभिन्न कार्यक्रम गरी संस्थाको भवन समुद्घाटन गरेको छ ।
सो अवसरमा स्मारिका प्रकाशन, तीज पर्वको सामूहिक दरका साथै नाचगान कार्यक्रम गरिएको थियो । आफ्नै दुईतले नवनिर्मित भवनको नेफस्कुनकी उपाध्यक्ष पार्वती खाँड राईबाट समुद्घाटन गरिएको हो । कार्यक्रममा बाल कलाकारहरूले राष्ट्रिय गानमा नृत्य प्रस्तुत गरेका थिए । सदस्य रिविता लिम्बूले एकल नृत्य प्रस्तुत गरेबापत प्रमाण–पत्र तथा करुवा पुरस्कार हासिल गरेकी थिइन् । १ नं.प्रदेशसभा सदस्य कृष्णकुमारी राई, नेफस्कुन पूर्व सञ्चालक तथा कानेपोखरी गापा अध्यक्ष ताराबहादुर काफ्ले, नेफस्कुन सञ्चालक सदस्य गोमा नेपाल, मोरङ जिल्ला सहकारी सङ्घका सचिव प्रेमप्रसाद कोइराला, सङ्घका लेखा संयोजक लक्ष्मी सापकोटालगायतले शुभकामना मन्तव्य दिएका थिए । संस्थाकी अध्यक्ष बिना राईबाट अतिथि सम्मान गरिएको थियो भने स्वागत संस्थाकी कोषाध्यक्ष मेनुका राईले गरेकी थिइन् ।
महिलाहरू मात्र रहेको संस्थाले १२ औं वर्ष पूरा गर्दा आफ्नै भवन निर्माण गर्न सकेको र संस्थामा १५ सय महिला दिदीबहिनीहरू शेयर सदस्य रहेको कार्यक्रम सञ्चालक सचिव दुर्गादेवी दङ्गालले जनाइन् ।