घण्टाघर/हिन्दूहरूको महान चाड हरितालिका तीजको अवसरमा फुटबल प्रतियोगिता आयोजना भएको छ ।
सप्तकोसी युवा क्लबको आयोजनामा सुनसरी जिल्ला अन्तर क्लब महिला फुटबल प्रतियोगिता आयोजना भएको हो । सप्तकोशी युवा क्लब, बराहक्षेत्र महिला फुटबल क्लब, विष्णुपादुका महिला फुटबल क्लब, धरान महिला फुटबल क्लबबीच खेल भएको हो । प्रतियोगितामा धरान महिला फुटबल क्लबले बराहक्षेत्रलाई ४–० गोल अन्तरले हराएको थियो । प्रतियोगितामा विनु राई, इन्दिरा राईले २ गोल र सामना राईले २ गोल गरेकी थिइन् । सप्तकोशी र विष्णुपादुकाबीच भएको खेलमा २–१ गोल अन्तरले विष्णुपादुका फाइनलमा पुगेको थियो । प्रतियोगितामा विष्णुपादुकाकी गंगा आले मगरले २ गोल गरेकी थिइन् । धरान फुटबल क्लब र विष्णुपादुकाबीच भएको फाइनल खेलमा धरानले ३–० गोल अन्तरले जीत हासिल गरेको थियो । जीतु राई १ गोल र कोपिला लिम्बूले २ गोल गरेकी थिइन् । खेलको उत्कृष्ट फरवार्ड कामना राई, उत्कृष्ट डिफेन्स जोशिला लिम्बू, उत्कृष्ट गोलकिपर सीमा आले मगर, हाइस्कोरमा गङ्गा आले मगरले उपाधि पाइन् ।
पहिलोलाई १४ हजार, प्रमाणपत्र, मेडल, ट्रफी र उपविजेतालाई १० हजार रूपैयाँ, प्रमाणपत्र, मेडल, ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकी उपमेयर कमला मगर प्रमुख अतिथि थिइन् । कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका कार्यकारी अधिकृत अच्युत दाहाल, लायन्स क्लब अफ कोशी रिभरका अध्यक्ष दयाराम रेग्मी, सामुदायिक प्रहरी सेवाका सूर्य राईलगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक सप्तकोशी युवा क्लबका कपिल आचार्र्यले जानकारी दिए ।