पथरीशनिश्चरे । नगरका व्यवसायीको हत्याको घोरभत्र्सना गर्दै झापाको दमक उद्योग वाणिज्य संघले व्यवसायीहरुको सुरक्षाको माग गरेको छ ।

झापा कमल गाँउपालिका वडा नम्वर ६ घर भइ दमक ६ मा कपडा पसल गर्दै आएका ३८ वर्षीय खेमराज पौडेलको गौरीगञ्जमा भएको विभत्स हत्याको विरोध जनाउँदै संघले विज्ञप्तिमार्फत दोषीलाई पक्राउ गरी कडा कारवाही र सुरक्षाको माग गरेको हो । संघका अध्यक्ष राजेन्द्र ढकालले नेपाल भारत नजिक रहेको गौरीगञ्ज गाउँपालिका ६ बाह्रदशीको सिमा क्षेत्रमा एकान्तमा लगेर भएको पौडेलको हत्याप्रति घोर भत्र्सना गरेका छन् । विज्ञप्तिमार्फत संघले घटनाको भत्र्सना गरेको अवस्थामा मंगलबार व्यवसायीहरुले बजार सहित यातायात वन्द गर्ने भन्दै आक्रोस व्यक्त गरेका थिए ।

भदौ २५ गते साँझबाट हराएका पौडेललाई अपहरणपछि धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा मंगलवार शव फेला परेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरिक्षक टेकेन्द्र पौडेलले जनाए । हत्या गरी फालिएको पौडेलको शव गौरीगञ्ज –६ बाह्रदसीस्थित विनोद यादवको खेत नजिकै रहेको नालामा मंगलवार बिहान फेला परेको हो । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको छ । घटनास्थलमा पौडेलको मे. ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन र व्याग फेला परेको छ । प्रहरीले हत्यामा अभियोगमा गौरीगञ्ज ६ का कपडा व्यवसायी सद्धाम हुसेनलाई पक्राउ गरेको छ । हुसेनले आफु लागू औषधको सेवन गरेको अवस्थामा पौडेलको हत्या गरेको स्वीकार गरेको प्रहरीले उल्लेख गरेको छ ।

सोमबार बेलुका सो मोटरसाइकलमा चढेर पौडेल र उनकी श्रीमती दीपा पसलको उधारो रकम उठाउन गौरीगञ्ज बजार पुगेका थिए । साँझ करिब ६ बजे श्रीमतीलाई खाजा पसलमा छाडेर पौडेल कपडाका घुमन्ते व्यापारी सद्धाम हुसेनसँग मोटरसाइकलमा चढेर हुसेनसँगको उधारो रकम लिन भनी गएको खुल्न आएको प्रहरीले उल्लेख गरेको छ । सद्धामसँग ९० हजार रुपैयाँ लिनुपर्ने भएकाले सोही रकम लिन पौडेल गौरीजञ्ज गएको अवस्थामा अपहरणमा परेको उल्लेख छ ।

सद्धामसँग गएका पौडेल राति अबेरसम्म नफर्किएपछि उनी अपहरण परेको भनी दीपाले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराएका थिए । अपहरणमा परेको सूचना पाएपछि प्रहरीले उनको रातभर खोजी गरेका थिए । सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले भारततर्फका केही व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिई अनुसन्धानपछि छोडेको छ ।