तेह्रथुम/लामो समयसम्म पानी नपर्दा खडेरीले अन्नबाली सखाप भएपछि चिन्तित बनेका किसानलाई एक युवाले खाद्यान्न सहयोग गरेका छन् । छथर गाउँपालिका–४ फाक्चामारा हाक्पारा निवासी हाल हङकङमा कार्यरत शिव इम्सङले स्थानीयलाई सहयोग गरेका हुन् । जिल्लाको छथर गाउँपालिका अन्तरगत फाक्चामाराका ५० परिवारलाई उनले चामल सहयोग गरेका छन् । पीडितको पीडामा मल्हम लगाउने उद्देश्यका साथ १ लाख ५० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् । साविक फाक्चामारा गाविसका वडा नम्बर १, २, ३, ४ र ५ को हाक्पारा, डाँडागाउँ, उन्जुङ, छघरे, वालङबा, साउने, भुजेलगाउँ, खङदाङ, सल्लेरी, कुचुङ, बतासे, आहाले, सिङ्जेक्वालगायतका विपन्न परिवारलाई उनले सहयोग गरेका हुन् । पिडीतलाई प्रतिपरिवार १ बोरा चामल वितरण गरिएको स्थानीय मनु लिम्बूले बताइन् । राहत वितरण कार्यक्रममा मिन्द्रा इम्सङले पीडितलाई प्रदान गरेका थिए । उनले स्वर्गीय आमा भीममाया तिगेलाको नाममा सिद्धगणेश मावि छथर–४ फक्चामारा बतासेमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । त्यस्तै स्थानीय जलकन्या आधारभूत विद्यालयमा ३० हजार बराबरको प्रिन्टर लगायतका सामग्री सहयोग गरेका छन् । खडेरीका कारण छथर गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का सुख्खाग्रस्त क्षेत्रमा खाद्यान्न सङ्कट रहेको कृषि प्राविधिकहरूले जनाएका छन् ।

खडेरी पीडितहरूको समस्यालाई निराकरणका लागि प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा रहेको टोलीले अनुगमन गरेको थियो । अनुगमनमा पुगेका टोलीले तत्कालीन तथा दीर्घकालीन समस्या समाधानका निम्ति सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । तत्कालीन रूपमा सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रदेश र र स्थानीय सरकारले १५ दिन बितिसक्दा पनि अझै कुनै सहयोग गरेको छैन ।