विराटनगर/३८ क्वीण्टल सुन तस्करी र उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा मोरङ अदालतको आदेश उल्टाउन माग राख्दै १७ नम्बर गरेका निलम्बित डिएसपी सञ्जयबहादुर थापालाई उच्चअदालत विराटनगरले जिल्ला अदालतकै आदशेलाई सदर गरेको छ ।  उच्च अदालतको तीन नम्बर इजलासमा न्यायाधीशद्वय तीर्थबहादुर कार्की र हरिप्रसाद भण्डारीले बिहीबार जिल्ला अदालतको आदेशलाई सदर गरेका हुन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माले जेठ ८ गते डिएसपी थापासहित २८ जनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका थिए । तर, अभियुक्त थापाले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै अदालती बन्दोबस्तको १७ नम्बर गरेका थिए । सुन र हत्या मुद्दामा बुधबार २५ थान मुद्दाको पेशी चढेको अदालतका सूचना अधिकारी राजनकुमार दाहालले जानकारी दिए । जसमध्ये ४ जनाको मुद्दा प्रतिवादी वलिकहरूले निवेदन दिएर स्थगित गराएका थिए भने २० थान मुद्दा समय अभावले हेर्न नभ्याएको अदालतले जनाएको छ ।

यसअघि अभियुक्तहरू तुलाराम थारु र लाक्पा शेर्पालाई उच्चअदालत विराटनगरले जिल्लाकै आदेश सदर गर्ने अन्तिम आदेश गरेको छ । एयरलाइन्स कर्मचारी थारुलाई मङ्गलबार र मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)का सहयोगी शेर्पालाई बुधबार उच्च अदालतले जिल्लाकै आदेश सदर गर्न अन्तिम आदेश गरेको हो । दुवै अभियुक्तहरू मोरङ जिल्ला अदालतको आदेशबाट ८ जेठबाट थुनामा छन् ।