बिर्तामोड । बढ्दो बलात्कार र हिंसाबाट बच्नका लागि गर्ने आत्मरक्षाबारे ज्ञान र सीप सिकाउन शुक्रबारबाट झापाको बिर्तामोडमा किशोरी र युवतीलाई तालिम दिन थालिएको छ । वीरता जेसीज, लेट्स रन नेपाल र सितोरियो कराँते–डो झापाको संयुक्त आयोजनामा पहिलो चरणमा आत्मरक्षा बारे बिर्तामोड दुईदिने तालिम शुरु भएको हो । तालिममा झापाका १०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा अभियुक्तको कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र आफ्नो गोप्य अंगको सुरक्षाका लागि के गर्न सकिन्छ भन्नेबारे ज्ञान दिने भएको छ । तालिममा सहभागी बालिका, किशोरी र युवतीलाई विज्ञ टोलीले प्रशिक्षण दिएको छ । तालिममार्फत शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानूनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिइने बताइएको छ । धम्क्याएर बलात्कार प्रयास भए प्रतिरक्षाका लागि किशोरीको मनोबल उच्च पार्न के–कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे किशोरीलाई सिकाइएको छ । आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइएको छ । आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन्, परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ र कानुनी उपचारका लागि कहाँ जाने भन्ने विषय प्रशिक्षणका मूल सिकाइ भएको बताइएको छ । कसरी सुरक्षित हुने भन्ने शारीरिक र मानसिक उपायबारे पनि सिकाइने बताइएको छ । लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीले औचित्य माथि प्रकाश पारेको तालिममा अधिवक्ता कोपिला खड्का बस्नेत, कराते तर्फ सार्क स्वर्ण पदक विजेता मिना पाठक उप्रेती, रजत पदक विजेता दुर्गाराज निरौला, राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक दिपेश निरौला र अर्का प्रशिक्षक अशोक राईले सहभागीलाई प्रशिक्षण दिइरहेका छन् । कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमकी प्रमुख अतिथि उपमेयर महतारा र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख कृष्णप्रसाद कोइराला, सितोरियो कराते डो झापाका वरिष्ठ प्रशिक्षक मदन उप्रेतीले बलात्कार र महिला हिंसाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै आत्मरक्षाका लागि आयोजित तालिम महत्वपूर्ण भएको बताए ।