पानवारी । सुनसरी क्षेत्र नं. एकका सांसद जयकुमार राईले प्रदेश नं. एकको राजधानीको लागी धरान नै उपयुक्त भएको बताएका छन् । उनले धरान हरेक हिसाबले राजधानीका लागी उपयुक्त भएको भन्दै धरान भन्दा अरु क्षेत्र राजधानीलाई लागी उपयुक्त नभएको बताए । उनले विराटनगर भारतीय सिमानामा पर्ने, वर्षायाममा डुबान हुने भएको साथै एकदमै गर्मि ठाउँ भएकोले राजधानीको लागी उपयुक्त नभएको बताएका छन् । सांसद राईले इटहरीलाई चारै तर्फको चोकको रुपमा व्याख्या भइरहेको भन्दै धरान पनि अब चारै तर्फको चोक भएको बताए । उनले धरानलाई कोशी राजमार्ग र मदन भण्डारी राजमार्ग बीच भागमा काटेकोले अब धरान पूर्वको केन्द्र भागमा रहेको सहर भएको बताए । उनले धरान चारै तर्फको चोक मात्र नभई तराई तथा पहाडी क्षेत्रको हावापानी अनुकुल, वर्षायाममा डुबान नहुने, बाढी पहिरोको प्रकोप नहुने, विभिन्न जातिय समुदायको बहुसांस्कृतिक सहर, बहुधार्मिक शहर भएको बताए । धरानमा राजधानी हुँदा किमाथांकाको जाडोमा बसेर आएको र विराटनगर तथा झापाको गर्मिमा बसेर आएका दुवै नागरिक सहज वातावरणमा कार्य सम्पादन गर्न सक्ने भन्दै धरानको हावापानी सबैका लागी सुहाउँदो भएको बताए । उनले धरानमा जनजातिदेखि, क्षेत्रीबाहुन र दलित, मधेशी, पहाडे, हिमाली जिल्ला सबै समुदाय मिलेर बसेको शहर धरान मात्रै भएको दाबी समेत गरेका छन् । धरानलाई राजधानी बनाउन आफुले पाटी निकट तथा विपक्षि पाटीका प्रदेश सांसदहरुसँग समन्वय गरिरहेको भन्दै धरान राजधानी बनाउन भूमिका खेलिरहेको बताएका छन् । उनले धरानलाई राजधानी घोषणा नगरे संयुक्त रुपमा सुनसरीलाई राजधानी घोषणा गरेर अघि बढ्न समेत भूमिका निर्वाह गरिरहेको बताएका छन् ।