ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको भौतिक संरचनालाई व्यापक रुपमा मर्मत संहार गरिने भएको छ । अस्पतालका भौतिक संरचनाहरुले कामै नगर्ने भैरहेको समयमा अस्पताललाई भौतिक रुपमा पुनः निमार्ण गरिने भएको हो । पुननिमार्णका लागि नेपाल मेडिकल सपोर्ट जर्मनीको सहयोगमा ताप्लेजुङ विकास मञ्चले अस्पतालको भौतिक संरचना सुधारको काम गर्ने भएको छ । यसका लागि १ करोड २ लाख रुपैयाँको सम्झौता भइसकेको वताईएको छ ।
पहिलो चरणमा जस्तापाता फेरिने ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईले जानकारी दिए । यसको काम यसै साताको अन्त्यदेखि सुरु हुने उनले बताए । अस्पतालको अधिकांश भागमा अहिले पानी चुहिन्छ । जसका कारण पानी पर्नासाथ विरामीहरुको विचल्ली हुने गरेको छ । पहिलो चरणमा सो कुराको सु्धार गर्न अस्पतालका छानामा रहेका जस्तापाता फेरिने भएको हो ।
त्यसका लागि प्राविधिक ईस्टमेट पनि तयार पारिसकिएको मञ्चको भनाई छ । पहिलो चरणमा जस्तापाता लगाउने काम सकिएपछि भुइँमा टायल लगाउने, भएको टायललाई घोटेर सफा बनाउने, झ्यालमा लगाईएका सवैखाले सिसा तथा ग्रिल फेर्ने र अस्पतालको पूरै भाग लाई रगंरोगन गर्ने योजना रहेको छ । अस्पतालका शौचालय भने अति जिर्ण भएकाले यस्लाई भने नयाँ तरिकाले निमार्ण गर्ने तयारी गरिएको मञ्चले जनाएको छ । यसै चरणमा खानेपानीका लागि फिल्टर राखिने छ । अहिले प्रयोग भइरहेको पानी शौचालय, कपडा धुन र सरसफाइमा मात्रै प्रयोग गरिने छ । खानेपानीका लागि छुट्टै व्यवस्था हुनेछ ।
खानेपानीको मुहान र घरको सेफ्टी ट्यांकी सँगै भएकाले अहिलेको पानी प्रयोगका लागि उपयुक्त नभएको निष्कर्षसहित यस्तो व्यवस्था गर्न लागिएको उनले बताए । अस्पतालमा थ्री फेज लाइनको बिजुली र्पुयाउने र भएकोलाई पूरै परिवर्तन गर्ने पनि योजनामा उल्लेख छ । यसका लागि मात्रै संस्थाले ६ लाख रुपैयाँ छुटयाएको छ ।
पहिलो चरणमा यी काम सम्पन्न भएपछि सीसीक्यामरा जडान गर्ने, उपचारमा प्रयोग हुने उपकरण खरिद गर्ने सम्झौतामा उल्लेख छ । दातृसंस्थाले पहिलो चरणको कामको मूल्यांकन गरेर दोस्रो सम्झौता गर्ने वताईएको छ । दोस्रो चरणमा ८० हजार युरो अर्थात करिब १ करोड रुपैयाँ दिने मौखिक सहमति भएको छ ।
दातृसंस्थाका प्रतिनिधि स्वयंले आएर अस्पतालको अवलोकन गरेका थिए । स्थानीयको विशेष आग्रहमा उनीहरू सहयोगका लागि तयार भएको अवलोकनमा सँगै रहेका लिटिल बुद्ध माविका प्रधानाध्यापक युवराज गिरीले बताए । १५ शैयाको जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्न प्रदेश सरकारले पनि १ करोड ३० लाख रुपैयाँ दिने भएको छ । एक नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले अस्पतालको भ्रमणपछि बजेट घोषणा गरेका हुन् ।
ताप्लेजुङ विकास मञ्चले गर्ने कामहरुको अस्पताल विकास समितिले अनुगमन गर्नेछ । अहिले जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षतामा अस्पताल विकास समिति बनाइएको छ ।