बिर्तामोड/ विद्यार्थीका आधारमा झापा बिर्तामोड नगरपालिकाकै सबैभन्दा ठूलो विद्यालयको रुपमा रहेको बिर्तामोड–५ को देवी उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका विद्यार्थीलाई समाजसेवी ९५ वर्षिय मानबहादुर गिरीले ६५ हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरेका छन् ।
बिर्तामोड–५ का समाजसेवी गिरीले स्व. श्रीमती भगवती गिरीको तेस्रो वार्षिक पुन्य तिथिमा देवीमा अध्ययनरत विपन्न विद्यार्थीलार्ई सोमबार कपी, कलम, जाडोको लागि स्वीटर, फलफूल, मिठाईसहित नगद वितरण गरेका हुन् ।
विद्यालयका कक्षा नर्सरी एलकेजी, १, २, ३, ४ र ५ का विपन्न परिवारका विद्यार्थीलाई समाजसेवी गिरीले सो सामाग्री वितरण गरेका थिए ।
गिरीले कक्षा नर्सरी र एलकेजीका ५ जना, कक्षा–१ का ७१ जना, कक्षा २ का २० जना र कक्षा ३, ४ र ५ का ५ जना विद्यार्थीलाई सो सामाग्री वितरण गरेका हुन् ।
सामाग्री वितरण कार्यक्रममा शंकर गिरी, अर्जुन गिरी, लोकबहादुर पुरी, सुशिला पुरी, निर्मल गिरी, राजकुमार पुरी, निशा पुरी, माथुराम गिरीलगायतको उपस्थिति रहेको थियो ।
वितरण कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठले समाजसेवी गिरीलाई धन्यावाद दिएकी थिइन् । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रअ. लीलाप्रसाद भण्डारीले गरेका थिए ।
बिर्तामोड नगरपालिका भित्रकै विद्यार्थीका आधारमा सबैभन्दा ठूलो देवी बिद्यालय भएको सहायक प्रधानाध्यापक बद्री भट्टराईले बताए । सो विद्यालयमा करिव ४ हजार विद्यार्थीहरु अध्ययनरत रहेको उनले बताए ।
‘विद्यालयमा निम्न आयआर्जन गर्नेका छोराछोरी बढि रहेका छन्’ सहायक प्रअ भट्टराईले भने ‘ आदिवासी, जनजाती, मधेसी, मुस्लिमलगायत समुदायका विद्यार्थी बढि रहेका छन् ।’ २५ देखि ३० प्रतिशत मात्र पहाडी समुदायका विद्यार्थी रहेको उनको भनाई छ ।
विद्यालयमा ५० जना शिक्षक-शिक्षिका छन् भने ७ जना अन्य कर्मचारी रहेका छन् । साथै निजि स्रोतका ६ जना शिक्षक-शिक्षिकाले पनि अध्यापन गराउने गरेको भट्टराईले बताए ।
सो विद्यालयमा कक्षा १ देखि १० सम्म एकहजार सातसय विद्यार्थी अध्यापन गर्छन् भने कक्षा ११ र १२ मा दुईहजार दुईसय विद्यार्थी रहेको सहायक प्रधानाध्यापक भट्टराईले बताए ।
त्यसैगरी खुल्ला शिक्षामा एकसय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।