पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरस्थित नेपाल नगरपालिका कर्मचारी एशोसियसन इकाई समितिले आइतबार ३ बुँदे मागसहित नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

स्थानीय तह ट्रेड यूनियन संयुक्त आन्दोलन परिचालन समितिको देशव्यापी आन्दोलन अन्तर्गत स्थानीय तहमा अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुको अधिकारमा जोड दिँदै ज्ञापनपत्र ब’झाइएको छ । इकाई समितिका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद कोइरालाको अगुवाईमा समितिका सदस्यहरुले नगरपालिकाका सूचना अधिकारी लोचन दहाललाई ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा, संघीय निजामति कर्मचारीलाई प्रदेश तथा स्थानीय तहमा समायोजन गर्दा अपनाइने सिद्धान्त, व्यवहार र मापदण्डकै आधारमा साविकका स्थानीय निकायमा कार्यरत कर्मचारीलाई समेत संविधान अनुरुप समायोजन गर्नेगरी अध्यादेशमा संसोधनको माग गरिएको छ ।

अस्थायी, करार र ज्यालादारी कर्मचारीको सर्वाेच्च अदालतको आदेशका आधारमा प्रतिष्पर्धामार्फत स्थायी गर्ने र सेवा अवधि गणनाका आधारमा हुने बृत्तीविकाको सुनिश्चित गर्ने अर्काे माग रहेको छ । साथै फोहोरमैला तथा सरसफाईका क्षेत्रमा कार्यरत कर्मचारीको पेशागत सुरक्षाको प्रत्याभूति गरी नीजि क्षेत्रमा उनीहरुलाई नलगी रोजगारीको सुनिश्चितता गर्नुपर्ने पनि माग राखिएको छ ।

मंसिर २३ देखि देशव्यापी रुपमा सुरु भएको आन्दोलनको कार्यक्रम अन्तर्गत पुस १ गते स्थानीय तहमा ज्ञापनपत्र बुझाउने र त्यसपछिका कार्यक्रमहरु निरन्तर अघि बढाउने आन्दोलन परिचालन समितिले उल्लेख गरेको छ ।

कर्मचारी एशोसियसन पुनर्गठन:

आइतबार ज्ञापनपत्र तयार गर्न बसेको भेलाले कर्मचारीको हकहितका लागि स्थापित मोरङको पथरीशनिश्चरे नगरस्थित नेपाल नगरपालिका कर्मचारी एशोसियसन इकाई समिति पुनर्गठन गरेको छ । भेलाले कृष्णप्रसाद कोइरालालाई अध्यक्ष चुनेर नयाँ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा मीनाकुमारी वर्मा, सचिवमा मीनबहादुर ठकुरी र कोषाध्यक्षमा कविता राई चुनिएका छन् । समितिको सदस्यमा, कमल भट्टराई, लीलाराज भट्टराई, बलबहाद’र बस्नेत, मन्दिरा दहाल, धनकुमारी थापा (रीना), खड्गनारायण श्रेष्ठ र केशव खतिवडा रहेका छन् ।

नयाँ समितिले सदस्यता विस्तार गर्दै परिचयपत्र नविकरण गर्ने र प्रत्येक महिनाको पहिलो शुक्रबार दिउँसो नियमित बैठक बस्ने समेत भेलामा निर्णय भएको छ ।