ताप्लेजुङ/ ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको खोक्लीङमा शनिबार सञ्चालित एक दिने एकीकृत घुम्ती सेवा शिविरमार्फत् एकै दिनमा १८९ जनाले नागरिकता दिइएको छ । जनताको घरदैलोमा नै पुगेर सेवा प्रवाह गर्ने सरकारको नीतिअनुरूप जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सञ्चालित शिविरमा नागरिकको प्रमाण पत्र लिएका हुन् ।
शिविरमार्फत् २००२ र २००४ सालमा जन्मिएका ज्येष्ठ नागरिकहरूले पनि नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । शारीरिक रूपमा असक्त रहेकी मिक्वाखोला गाउँपालिका–१ खोक्लिङका २२ वर्षिय जनकमायाँ लिम्बूलाई घरैमा गएर नागरिकता वितरण गरिएको छ ।
यसैबीच १ सय ९५ जनाले मतदाता नामावली अद्यावधिक गराएका छन् । यस्तै, डिभिजन वन कार्यालय ताप्लेजुङबाट ६ सय बिरुवा वितरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ७६ जनाको स्वास्थ्य परीक्षण गरेको २३ जनालाई सुविधा सम्पन्न अस्पतालमा चेकजाँच गर्नको लागि सिफारिस गरिएको र ९ जनालाई अल्ट्रासाउण्डको माध्यमबाट जाँच गर्न सुझाव दिइएको छ ।
यता डिचेनडोङ्ला आँखा अस्पतालबाटसमेत २ सय १८ जनाले सेवा लिएका छन् । मिक्वाखोला गाउँपालिकाबाट २७ ओटा अपाङ्गता परिचय पत्र र २ जनाले ज्येष्ठ नागरिकता परिचय पत्र लिएका छन् ।