मेचीनगर/ झापाको बाह्रदशी गाउँपालिकाका तीन वटा सरकारी कार्यालयमा बुधबार ब्लाष्टकर्मी पुग्दा कार्यालय सुनसान भेटिएका छन् ।

गाउँपालिकासँगै जोडिएका पशु सेवा कार्यालय, कृषि कार्यालय र स्वास्थ्य शाखा कार्यालय खुले पनि कार्यालय प्रमुखहरू भेटिएनन् । स्वास्थ्य शाखा त खुलेकोसम्म थिएन । पशु सेवा शाखाका प्रमुख देवकुमार यादव आइतबार अपरान्ह १ बजेसम्म कार्यालयमा हाजिर भएनन् ।

उनीसँग ब्लाष्टकर्मीले सम्पर्क गर्दा घरमा नानी बिरामी भएकाले आउन ढिलाइ भएको जवाफ दिए । यसविषय सम्बन्धित निकायलाई जानकारी गराउनुभएको छ कि छैन भन्ने जिज्ञासामा आफूले कसैलाई जानकारी नगराएको उनले बताए ।

त्यस्तै कृषि शाखाका प्रमुख लक्ष्मी मेहताको कुसी पनि खाली थियो । हामीले उनी कहाँ गएकी रहिछन् भने जान्ने प्रयास गर्यौँ। उनी कार्यालयमा नआएको लामो समय भइसकेको सेवाग्राहीले उत्तर दिए । उनलाई भेट्न सेवाग्राहीहरू लाम लागेका थिए । यसविषयमा हामीले उनीसँग पनि सम्पर्क गर्यौं ।

उनले आफ्नो काकाको निधन भएकाले बिदामा बसेको बताए । उनले पनि कसैलाई जानकारी नगराइ नै बिदामा बसेको पाइयो । उनले फोनबाट मात्रै जानकारी गराएको बताए । आपतकालीन अवस्था भएकाले आफूले फोनमार्फत् मात्रै जानकारी गराएको बताए ।

हामीले सोध्यौँ, तपाईबाट सेवा लिने सेवाग्राहीले अन्य कोमार्फत् सेवा लिन सक्छन् त ? भन्ने जिज्ञासामा उनले आफू एक्लै भएको बताए ।

दुई कार्यालयको अवस्था नियालिसकेपछि हामी त्यहीँ नजिकैको स्वास्थ्य शाखा पुग्यौं । त्यो त खुलेकोसम्म थिएन । कार्यालयमा सेवा लिनका लागि आएका मोति सञ्जेलले आफू ६ पटकसम्म एउटा सिफारिसका लागि कार्यालय धाएको बताए ।

तर, प्रमुख नभेटिएको उनले उत्तर दिए । नजिकै रहेका दीपक दाहालको पनि उस्तै जवाफ थियो । कृषि शाखाका प्रमुखलाई पटक–पटक भेट्न आए पनि कार्यालयमा नभेटिने कारण काम नहुने गरेको गुनासो पोखे । कार्यालयमा सेवा लिन आएका सेवाग्राही पूण्य खनाल, केशव बराल, देवी आचार्यलगायतले पनि उस्तै गुनासो गरेका थिए ।

कार्यालयमा समयमा कर्मचारी नभेटिने कारण आफूहरूले दैनिक दुःख पाउने गरेको बताए । बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद नेपालले कर्मचारीले पाउने आपतकालीन बिदा अन्तर्गत बिदा बस्न पाउने भन्दै उल्टो बचाउ गरे ।

उनले कार्यालय र फिल्डको काम एउटै कर्मचारीले गर्ने भएकाले कार्यालय बन्द रहेको प्रतिक्रिया दिए । कर्मचारी कम भएकाले केही कमीकमजोरी भएको उनले स्वीकारे ।