रङ्गेली/ राज्यले विपन्न वर्गका लागि छुट्याएको स्वास्थ्य सेवामा समेत सम्पन्नहरूकै हालमुहाली भइरहेको सरोकारवालाहरूले बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नर्सिङ तथा सामाजिक सुरक्षा महासाखाद्वारा विराटनगरमा मङ्गलबार आयोजित ‘विपन्न नागरिक औषधि उपचार’ विषयक कार्यक्रममा सहभागी वक्ताहरूले निरीक्षण अनुगमन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले समयअनुरूप सेवा बिस्तार र रूपान्तरण आवश्यक भएको बताए । सरकारी संयन्त्रका अस्पतालहरूले दिने सेवामा समेत शैली परिवर्तन नभएको भन्दै यसको गुणस्तर विकास आवश्यक भएको बताए ।

नीजि अस्पतालले पनि विपन्न वर्गको उपचारमा कञ्जुस्याइ नगरोस मन्त्री घिमिरे भने, ‘सरकारले दिनेगरेको स्वास्थ्य आरक्षण सेवा जनताले पाउनु पर्दछ ।’

यस्तै विराटनगर महानगरका मेयर भीम पराजुलीले विपन्नका लागि स्वास्थ्यमा सहज पहुँच आवश्यक रहेको बताए । कतिपय नीजि अस्पतालहरूले पनि विपन्नका नाममा दिनुपर्ने सेवा समेत नदिने गरेको भन्दै यस्ता कुराहरू सच्याउन आवश्यक रहेको बताए ।

सरकारले तोकेका निःशुल्क स्वास्थ्य सेवा दिँदै आएका नोबेल मेडिकल कलेज, न्यूरो हस्पिटल, गोल्डेन, बीपीकेआइएचएस र वृतासिटी हस्पिटलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अल्जाइमर, पार्किन्सन्स, हेडइञ्जुरी, स्पाइनल इञ्जुरी, क्यान्सर, मुटुरोग, मिर्गौला रोग र एनिमियालगायतका रोगहरूको उपचार यी अस्पतालहरूले गर्दै आएका छन् । ]नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा निर्देशक रोशनी तुइतुइ, न्यूरो हस्पिटल विराटनगरका डा. वीरेन्द्रकुमार बिष्ट, कोशी अञ्चल अस्पतालका प्रमुख रोशन पोखरेललगायतले धारणा राखेका थिए ।