बिर्तामोड/ झापाको तीनवटा गाउँपालिकाले विकास निर्माणमा साझेदारी गर्ने उदेश्यले ‘बी थ्री’ नामको सङ्गठन निर्माण गरेको घोषणा गरेका छन् । झापाका हल्दिबारी, बाह्रदशी र कचनकवल गाउँपालिकाले विकासमा साझेदारी गर्ने उद्देश्यले सङ्गठित भएको घोषणा गरेका हुन् ।
विकासका लागि ‘एकता नै बल हो’ भन्ने मूल अवधारणालाई आत्मसाथ गर्दै तीन गाउँपालिकाबीच साझेदारी गर्ने घोषणा गरेको हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।
तीन गाउँपालिकाले विकास निर्माणका लागि संयुक्तृ रूपमा उपकरण खरिद गर्ने निर्णय गरेका छन् । झापाका अन्य स्थानीय तहभन्दा न्युन स्रोत भएका कारण संयुक्त रूपमा उपकरण खरिद गर्दा सहज हुने ठहर गर्दै भुगोल मिल्ने तीनवटा स्थानीय तहले विकासमा साझेदारी गर्ने निर्णय गरेका हुन् ।
जिल्लामै उत्कृष्ट कार्यक्रम ल्याएर चर्चामा रहेको हल्दिबारीले अघि सारेको प्रस्तावमा कचनकबल र बाह्रदशी सहमत भएका हुन् । तीनवटै स्थानीय तहले विकासमा साझा मोडल अङ्गिकार गर्ने समेत सहमति गरेका छन् ।
सहमतिलाई कार्यपालिकाको बैठकबाट अनुमोदन गरेर कार्यान्वयनमा लगिने कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।
स्रोत प्रयोग गर्ने विषयमा अन्य स्थानीय तह विवादमा फसिरहेको समयमा सिमाना जोडिएका तीन स्थानीय तहबीच सहमति भएको हो । झापाकै ठूलो चारकोसे जङ्गल यी तीनवटा स्थानीय तहमा पर्छ ।
त्यसलाई सदुपयोग गर्न पनि साझेदारी आवश्यक परेकाले बी थ्री मार्फत् एकजुट भएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गनारायण राजवंशीले बताए ।