जिरोपोईन्ट / प्रदेश नं. १ घुम्ने आउने धेरे पर्यटकहरुको गुनासो राम्रो होटल नभएको नै हुने गरेको छ । स्टार होटलहरु प्रयाप्त नहुदा पूर्व आउने पर्यटकहरु लामो यात्रा छोट्याउने गरेका छन् । केही राम्रा होटल विराटनगरमा मात्र सिमित भएका कारण दिनभरी घुमेर पर्यटकहरु विराटनगर नै फर्कन चाहन्छन् ।

अव धरान मै सुविधायुक्त होटल
यही कुरालाई मध्य नजर गरेर धरान उपमहानगरपालिका – ८ मा यो माघ महिनादेखि नै ३ तारे सुविधासम्पन्न होटल सञ्चालनमा आउने भएको छ । धरानमा भित्रने पर्यटकलाई आरामदायी सुविधा प्रदान गर्नका लागि धरानमा नै पहिलो ३ तारे सुविधा सम्पन्न होटल “होटल गजुर प्यालेस” शुरु गर्न लागिएको हो ।
लगानी
विगत २५ वर्षदेखि व्यापार व्यवसायमा लागेका गोपालप्रसाद आचार्यले ८ करोड आफ्नो एकल लगानीमा धरानको –८ भोटेपुलमा होटलको सुरुवात गरेका हुन् ।

यस्तो छ सुविधा
६ तला रहेको उक्त होटलमा २८ वटा सुविधासम्पन्न कोठाहरु रहेका छन् । जसमा किङ स्विट रुम, स्विट रुम, प्रिमियम डिलक्स रुम, एक्सक्ल्युसिप डिलक्स रुम, सुपेरीयर डिलक्स रुम र टुईन डिलक्स रुम रहेका छन् । कोठाको न्युनतम ४ हजार ९ सय देखि अधिकतम १९ हजार ९ सयसम्म आवासमूल्य रहेको छ ।

होटेलमा बस्न आउने पाहुनाहरुका लागि २४ घण्टा नै होटलको किचन खुल्ला रहने होटल सञ्चालक आचार्यले बताएका छन् । साथमा हरेक कोठाहरु एटेज रहेका छन् । साथमा इन्टरनेट, एयर कन्डिसन लगायत अन्य सम्पुर्ण सुविधा उपलब्ध रहेको छ ।

४ सय क्षमताको सेमिनार हल
होटलमा २ सय देखि ४ सय जना अटाउने सेमिनार हल समेत रहेको छ । साथै ६० देखि ६५ जना अटाउने रेष्टुरेन्ट र १० देखि १५ जना अटाउने भिइपी लाउञ्ज छुट्टै रहेको छ ।

फराकिलो पार्किङ क्षेत्र
होटलमा १४ वटा गाडी र ५० वटा मोटरसाईकल अटाउन सक्ने क्षमता भएको पार्किङ स्थल समेत रहेको छ । विराटनगरमा एयरपोर्ट भएको कारणले एयरपोर्टबाट धरान आउने पाहुनालाई ल्याउन यातायातको समेत व्यवस्था गरीएको छ । यसको औपचारिक उद्घाटन भने माघ २५ गते गर्ने कार्यक्रम तय गरिएको छ ।