धरान / प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७५/ ०७६ को नीति तथा कार्यक्रममा विभिन्न पर्यटन सम्बन्धी विभिन्न कार्यक्रमम ल्याइएको छ । पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास र प्रचार प्रसार लगायतका योजनामा प्रदेश सरकारले ८९ करोड बजेट समेत विनियोजन गरेको छ ।
पर्यटक आवागमन वृद्धि गर्न पाथीभार फुङलिङ, धरान–भेंडेटार, खोटाङ हलेसी जयराम, सुर्यकुण्ड–बराहा क्षेत्र केवलकार सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने, यसैगरी सोलुखम्बुको फाप्लु–लुक्ला, नाम्चे–सगरमाथा बेसक्याम्प, बाह्रबिसे–सभापोखरी, केराबारी–जेफाले–मिक्लाजुङ, मंगलबार–अन्तुडाँडा, ईलामको माइपोखरी लगायतका स्थलमा केवलकार सञ्चालनका लागि विस्तृत अध्ययन गरिने नीति तथा कार्यक्रममा समेटिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई स्तरोन्नति गरी छिमेकी मुलुक भारतको पटना, कोलकता, नयाँ दिल्ली तथा बंगलादेशको ढाकासम्म अन्तराष्ट्रिय उडान सुरु गरी विदेशी पर्यटकलाई यस क्षेत्रमा सोझै भित्राउने भावी योजना लिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियतले जानकारी दिए । कोशी टप्पु बराहक्षेत्र विजयपुर सर्किटको अवधारणा
प्रदेश नं. १ सरकारको नीति तथा कार्यक्रममा पर्यटनलाई उच्च प्राथमिकतामा राखको थियो । प्रदेशमा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुलाई जोड्ने यातायात तथा पदमार्गहरुलाई व्यवस्थित गर्ने योजना अघि सारेको छ ।
प्रदेश सरकारले सुनसरीको कोशी टप्पु, वर्जुताल, तालतलैया इटहरी, वराहक्षेत्र, रामधुनी, विष्णुपादुका, वुढासुव्वा, पिण्डेश्वरी क्षेत्रलाई बराह– विजयपुर सर्किट बनाउने योजना अघि सारेको छ ।
हलेसीदेखि पाथिभरासम्म शक्तिपीठ सर्किट
यस्तै खोटाङको हलेसी, वराहपोखरी, धनकुटाको छिन्ताङ्ग, भोजपुरको साल्पापोखरी, संखुवासभाको मनकामना, इलामको माइपोखरी र ताप्लेजुङको पाथीभरा क्षेत्रलाई शक्तिपीठ सर्किटको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन र सेवाहरुको विविधिकरण गरिने उल्लेख छ । प्रदेशको मुख्य पर्यटकीय गन्तव्य स्थलका ेरुपमा क्रमशः सगरमाथा, मकालु वरुण तथा कञ्चनजंगा राष्टिूय निकुञ्ज, इलामको फिक्कल कन्याम, श्रीअन्तु, नमस्ते झरना, धनकुटा भेडेटार नाम्जे, तीनजुुरे मिल्के जलजले, इटहरीको तालतलैया क्षेत्र, वेलवारी वेतिनी ताल, झापाको जामुनखाडी क्षेत्र, संखुवासभाको सभापोखरी, गुफापोखरी, भोजपुरको टयाम्के मँयू र ओखलढुंगा सोलु पत्तालेलाई पर्यटन क्षेत्रको आकर्षक स्थलकोरुपमा पूर्वाधारसहित विभिन्न पर्यटक सर्किटहरुको नेटवर्किगं विकास गर्ने उल्लेख छ ।