धरान / करिब ६ वर्षपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) युवा खेलाडी उत्पादनमा लागेको छ ।
अण्डर १३ र अण्डर १६ का युवा खेलाडी उत्पादन गर्न यतिखेर एन्फाका जिल्ला समिति सक्रिय छन् । सुनसरीका चार स्थानमा शनिबार यु–१३ र यु–१६ का खेलाडी छनौट थालिएको छ । जहाँ युवा खेलाडीको क्रेज देखिएको छ । एन्फा जिल्ला समिति उपाध्यक्ष एवम् सुनसरी ‘क’ क्षेत्र धरानका छनौट समिति संयोजक नवीन राईले धरानमा मात्रै ४ सयको हाराहारीमा खेलाडीहरू उपस्थित भए । सुनसरीको इटहरी, इनरुवा र वराहक्षेत्रमा पनि एकै दिन छनौट गरिएको हो । अन्यत्र पनि छनौटका क्रममा खेलाडीहरू उलेख्य रूपमा सहभागी बनेको उनले बताए ।
पदाधिकारी विवादका कारण २०७० सालदेखि एन्फाले युवा खेलाडी उत्पादन गर्न सकेको थिएन । जिल्ला, प्रदेश र केन्द्रको छनौटपछि २५ जना किशोर खेलाडीहरूले आवसीयसहितको सुविधा प्राप्त गर्ने छन् । उनीहरूलाई पठनपाठन, प्रशिक्षण, खेलसामग्री र खानालगायतको सुविधा प्रदान गरिने छ । यसअघि २०६६ सालमा गोलप्रोजेक्ट अन्तर्गत युवा खेलाडी उत्पादन गरिएको थियो । सोही खेलाडीले अहिले राष्ट्रिय फुटबल धानिरहेका छन् । ‘अहिले राष्ट्रिय टिममा भएका खेलाडीहरू भनेको एन्फाकै उत्पादन हुन्,’ एन्फाका मानार्थ बरिष्ठ उपाध्यक्ष एवम् एन्फा एकेडेमी सञ्चालक समितिका संयोजक किशोर राईले भने ।
गतवर्ष एन्फाको केन्द्रीय अध्यक्षमा कर्मा छिरिङ शेर्पा निर्वाचित भएपछि उनले एकेडेमीलाई निरन्तरता दिने घोषणा गरेका थिए । अहिले सुनसरीको धरान, रुपेन्देहीको बुटबल र ललितपुरको च्यासलमा एकेडेमी रहेका छन् । तर, विगत ६ वर्षदेखि एन्फाले कुनै गतिविधि गर्न सकेको थिएन । जसका कारण एन्फा आलोचित बन्न पुगेको थियो । तर, गत जेठ २३ गते एकेडेमी सञ्चालक समितिका संयोजक किशोर राईले धरानको एकेडेमी पुनः सञ्चालनका लागि ८० लाख ५१ हजार ५ सय रुपैयाँको लागत अनुमानको प्रस्ताव बुझाएका थिए ।
तात्कालीन समयमा एन्फाका केन्द्रीय उपाध्यक्ष पञ्कज नेम्बाङले तीनवटै एकेडेमी सञ्चालन गर्नका लागि फिफाबाट १ लाख ५० हजार डलर पारित भएको बताएका थिए । हाल एकेडेमी मर्मत भइरहेको छनौट समिति संयोजक नवीन राईले बताए । फिफाले गोलप्रोजेक्ट अन्तर्गत धरानमा २०५९ सालमा ४ करोडको लागतमा एकेडेमी निर्माण गरेको थियो । धरानमा २०६६ सालदेखि २०७० सालसम्म दुई चरणमा खेलाडी उत्पादन गरिएका थिए । त्यसयता एकेडेमी गौरचणमा परिणत भएको थियो ।
धरानको एकेडेमीमा एउटा सेमिनार हल, बैठक कोठा, कार्यालय कोठा, भान्साघरसहित ११ वटा आवसीय कोठा छन् । छनौटमा सुनसरीबाट यु–१३ मा २५ र यु–१६ मा २५ खेलाडी छनौट गरिने छ । सुनसरीका चार वटा क्षेत्रबाट २५ जनाको दरले यु–१३ मा एक सय र यु–१६ मा एक सय खेलाडी प्रदेश स्तरमा स्पर्धा गर्ने संयोजक राईले बताए । प्रदेशबाट केन्द्र छनौट भएर आएका खेलाडीले मात्रै आवसीयसहितको प्रशिक्षण, पठनपाठनलगायतको सुविधा प्राप्त गर्ने छन् ।