सुनसरी/ सवारी साधनको चापले अस्तव्यस्त बन्दै गएको इटहरीको मुख्यचौक क्षेत्रको सडकमा सवारी साधनको व्यवस्थापन शुरु गरिएको छ ।
इटहरी उपमहानगरपािलकाले बस स्ट्याण्डलाई चार स्थानमा व्यवस्थित गरी अन्य सवारी साधनको लागि पनि पार्किङ क्षेत्र तोकेको हो । अन्यत्र जग्गा नभएपछि सडककै किनारामा अल्पकालीन रूपमा सवारी व्यवस्थापनको काम थालिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गाौतमले बताइन् । गत साउनमा इटहरी उपमहानगरपालिकाले गठन गरेको नगर क्षेत्रको ट्राफिक व्यवस्थापन सम्बन्धी प्रतिवेदनका आधारमा यातायातको व्यवस्थापन थालिएको उपमेयर गौतमले बताइन् ।
वार्ड नम्बर ६ का अध्यक्ष दीपक गौतमको संयोजकत्वमा गठित प्राविधिक, यातायात व्यवसायी, ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिको समितिले प्रतिवेदन तयार गरेको हो । गत साउन ११ गते प्रतिवेदन तयार भए पनि बल्ल कार्यान्वयन भएको हो । उपमेयर गौतमका अनुसार इटहरी चौक उत्तरतर्फ नेपाः सामुदायिक भवन अगाडि, दक्षिणतर्फ चिन्तन चौतारी होटल छेउ, पश्चिमतर्फ खेती खोला पश्चिमतर्फ सडक साइडमा पार्किङ तथा स्ट्याण्ड लगाउने व्यवस्था गरिएको छ ।
पूर्वतर्फ जाने सवारीको स्ट्याण्ड ट्याङ्ग्राहा खोलापारी रहेकामा मिलन चोकमा पु¥याइने उपमहानगरपालिकाले जनाएको छ । पश्चिमतर्फ बसपार्कलाई नै जोड दिँदै खेतीखोला पश्चिमतर्फको स्थानमा तत्कालका लागि साना सवारीलाई स्ट्याण्ड तोकिएको उपमेयर गौतमले बताइन् । प्रतिवेदन समितिले पार्किङ स्थल र स्ट्याण्डहरूमा अनिवार्य यात्रु प्रतिक्षालय र शौचालय पनि निर्माण गरिनुपर्ने बताए पनि सो कार्यअघि बढाइएको छैन ।
यस्तो छ समितिको सुझाव र प्रतिवेदन
दिपक गौतमको संयोजकत्वमा गठित समितिले पूर्वबाट इटहरीतर्फ आउने बसहरूलाई मिलनचौक नजिक स्ट्याण्ड कायम गर्ने गरी प्रतिवेदन बुझाएको थियो । पूर्वतर्फ जाने बसलाई साबिककै स्थान खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अगाडि स्ट्याण्ड कायम गर्ने, पश्चिमतर्फ जाने एवम् आउने बसहरू बसपार्क भित्रै पार्किङ गर्ने, इटहरी हुँदै धरानतर्फ जाने बसलाई नेपाः भवनको विपरीत स्ट्याण्ड कायम गर्ने भनिएको छ ।
विराटनगरबाट इटहरी आउने बसलाई पाथीभरा नर्सरी स्ट्याण्ड कायम गर्ने र खाँदबारी, भोजपुर, तेह्रथुम जाने बसहरूलाई बसपार्कमा पार्किङ गर्ने प्रतिवेदनमा जनाइएको छ । यस्तै ठूला मालबाहक ट्रक आदि सवारी साधनलाई एकदिन भन्दा बढी पार्किङ गर्न ट्राफिक प्रहरी कार्यालयको पूर्वतर्फबाट दक्षिणपट्टि रहेको जमिन पुरेर व्यवस्थापन गर्ने र उल्लेखित बस स्ट्याण्डहरूमा इ–रिक्सा एवम् अटोसमेतलाई पार्किङको व्यवस्थापन गर्ने भनिएको छ । इ–रिक्सा अटो रिक्सा भाडाका ट्याक्सी म्याजिक टेम्पो पश्चिमतर्फ झुम्का इनरुवा जाने म्याजिक र टेम्पु खेतीखोलाको पश्चिम पट्टिको सडकको उत्तर साइडमा प्रशान्ती नर्सरी भएको स्थानमा पार्किङको व्यवस्थापन गरिने छ ।
इटहरीबाट पूर्व बेलबारीसम्म जाने म्याजिक र टेम्पोलाई टेयाङ्गग्रा खोलाको पूर्व पट्टि उतर साइडको खाली स्थानमा सङ्ख्या तोकी पार्किङ व्यवस्थापन गरिने छ । सामान ढुवानी गर्ने पिकअपहरू खेतीखोला पश्चिम प्रशान्त नर्सरीको उत्तर साइडमा पार्किङ गर्ने, रातो नम्बरका ट्याक्सीहरूलाई राधाकृष्ण पेट्रोलपम्पदेखि पश्चिम महेन्द्र राजमार्गको दक्षिण साइडमा स्ट्याण्ड कायम गरिने छ ।
कालो प्लेटका ट्याक्सीहरुलाई हिरा होटल आसपासमा चारवटा स्ट्याण्ड कायम गर्ने र पश्चिममा विराटनगरबाट आउने म्याजिक २ वटा र लोकल २ गरी ४ वटा म्याजिक साबिक ठाउँमा राख्ने (पेरिस होटल अगाडि) स्ट्याण्ड कायम गरिने छ । प्रतिवेदनमा पश्चिमतर्फ बसपार्क जाने बाटो छेउ इ–रिक्सा र अटोसहित १० र १५ वटा स्ट्याण्ड कायम गर्ने र एभरेष्ट बैङ्क अगाडि ५ र १० वटा स्ट्याण्ड कायम गर्ने र पूर्वपट्टि बाणिज्य बैङ्क अगाडि स्ट्याण्ड कायम गरिने जनाइएको छ ।