धरान/धरानमा प्रदेश स्तरीय प्रथम वुमन बास्केटबल प्रतियोगिता हुने भएको छ ।

धरान बास्केटबल सङ्घको आयोजनामा वैशाख २३ गतेदेखि हुने प्रतियोगितामा प्रदेशमा १० टिम सहभागी हुने बिहीबारको पत्रकार सम्मेलनमा जनाइयो । महिला बास्केटबल खेलाडीहरूको उत्पादन र अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको सङ्घका सचिव एवम् प्रशिक्षक विकास चाम्लिङले बताए ।

प्रतियोगितामा मोरङ, इलामका महिला टिमहरू सहभागी बन्दै छन् । त्यस्तै धरानका कलेज, क्लब तथा विद्यालयका टिमहरूले स्पर्धा गर्न लागिरहेका छन् । विजेताले नगद १० हजार रुपैयाँ र उपविजेताले नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष सुरजकुमार लामाले बताए । त्यस्तै उत्कृष्ट खेलाडी र उदयिमान खेलाडीलाई पनि पुरस्कार प्रदान गरिँदै छ ।

उत्कृष्ट खेलाडीलाई नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । जिल्ला बास्केटबल सङ्घ र धरान उपमहानगरको संयोजनमा प्रतियोगिता हुँदै छ ।