मधुमल्ला /दक्षिणी इलामको चुलाचुलीमा जारी प्रथम चुलाचुली गोल्डकप फुटबल प्रतियोगिताको उपाधी उर्लाबारीको मोरङ फुटबल एकेडेमी मंगलबारेले हात पारेको छ ।
चुलाचुली गाउँपालिका वडा नं. १ प्रस्तावित शहिद लमाङ्तोक रङ्गसालामा आइतबार भएको फाइनल खेलमा झापाको धुलाबारी फुटबल क्लबलाई ३ – १ गोल अन्तरले हराउँदै मंगलबारेले उपाधि जितेको हो । मंगलबारेलाई उपाधि दिलाउन पहिलोे हाफको १७ औँ मिनेटमा निशान लिम्बुले १ गोल गर्दै खाता खोलेका थिए । खेलको दोश्रो हाफको २२ र २५ औं मिनेटमा मंगलबारेका निशान लिम्बु र साइमन लिम्बुको गोलले उर्लाबारीलाई उपाधी दिलाएको हो ।
धुलाबारीका टिम क्याप्टेन पुजन उपरकोटीले एक गोल गरे । खेलमा म्यान अफ दी म्याच, उत्कृष्ट खेलाडी, हाई स्कोरर, स्टाईकर, उत्कृष्ट गोल किपर, मिड फिल्डर क्रमशः मङ्गलबारेका साइमन लिम्बु, निशान लिम्बु, असन राई, किशोर गिरी र धुलाबारीका पुजन उपरकोटी घोषित भए ।
उपाधिसँगै मंगलबारेले १ लाख १ हजार नगद पाएको छ । उपविजेताले ५० हजारमा चित्त बुझायो । विजेता टिम तथा खेलाडीहरुलाई कार्यक्रममा प्रमुख अतिथी इलाम जिल्ला खेलकुद समन्वय समितिका अध्यक्ष गणेश बरालले पुरस्कार वितरण गरेका थिए ।