ताप्लेजुङ । तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने भएका छन् । बुधबार सम्पन्न खेलमा साविक विजेता नेपाल पुलिसले गण्डकी प्रदेश र आर्मीले एपिएफ क्लवलाई पराजित गर्दै उपाधि भिडन्त तय गरेका हुन् । पहिलो सेमीफाइनलमा पाँच जना राष्ट्रिय खेलाडीलाई मैदान उतारेको पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघुबजारस्थित नारायणी माविको मैदानमा भएको पहिलो सेमीफाइनलमा २५–१८,२६–२४,२५–१७ अंकको सोझो सेटमा पुलिससँग गण्डकी स्तब्ध बनेको थियो । पुलिसलाई जिताउन उत्कृष्ट प्रदर्शन गरेका विशाल विक म्यान अफ द म्याच घोषित भए ।

यस्तै त्रिभुवन आर्मी एपिएफलाई ३–१ को सेटमा हराउदै उपाधि नजिक पुगेको हो । निकै प्रतिस्पर्धात्मक दोस्रो सेमीफाइनल खेलमा आर्मीले एपिएफमाथी २५–२१,२५–२०,२०–२५,२६–२४ अंकको जित निकाल्यो । आर्मी सात जना राष्ट्रिय टिमका खेलाडीसहित मैदानमा उत्रिएको थियो ।

आर्मीका धनबहादुर भट्ट म्यान आफ द म्याच घोषित भए । गुराँसको राजधानी मानिने टिएमजे क्षेत्रमा रहेको साँघुमा ‘पर्यटन प्रवद्र्धनका लागि भलिबल’ भन्ने नारासहित प्रतियोगिताको आयोजना गरिएको हो । बैसाख २२ गते सुरु भएको प्रतियोगितामा ८ टिम सहभागि थिए । फाइनल खेल विहिबार हुने छ ।