लक्ष्मीमार्ग/मोरङको बेलबारीमा सोमबारदेखि मेयरकप फुटबल प्रतियोगिता शुरु भएको छ । आइतबारको पहिलो खेलमा वडा नम्बर ६ ले वडा नम्बर ९ लाई २-० गोल अन्तरले पराजित गरेको छ ।
खेल शुरु भएको ७ मिनेटमै बेलबारी ६ का जोन मगरले पहिलो गोल गरेका थिए । खेलको २५ औ मिनेटमा उनले नै थप एक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच वडा नम्बर ६ का जोन मगर घोषित भए । पहिलो चरणमा वडास्तरीय मेयर कप सञ्चालन आइतबारदेखि शुरु भएको हो भने दोस्रो चरणमामा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने मेयरकप आयोजक समितिले जनाएको छ ।
उक्त प्रतियोगिताको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयरकप सञ्चालन गरिएको बताए । उनले स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्न नगरपालिकाले विभिन्न कार्यक्रम गरिरहेकोसमेत बताए । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै, उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सचिव मिलन राईले बताए । सोमबार बेलबारी ५ र ७ नम्बर वडाबीच हुने आयोजकले जनाएको छ ।