भद्रपुर / झापाको भद्रपुरस्थित कारागारमा सुरक्षार्थमा खटिएका सई नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट इटलियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको छ ।

असइ हीरण सिंहलाई सुरक्षाको जिम्मा दिएर आचार्य घर बिदा गएका थिए । तर, वुधबार बिहान पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन नभेटिएपछि कारागारको सुरक्षार्थ खटिएका प्रहरीबाटै हतियार हराएको घटना सार्वजनिक भएको थियो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति निर्माण भई अनुसन्धान थालेको जिल्लाका एसपी दिनेशराज मैनालीले बताए ।

नौ महिनाअघि झापा कारागारभित्रैबाट दिउँसै फरार भएका गौरादह नगरपालिका–८ स्थित जुरोपानीका २४ वर्षीय उमेश माझीलाइ अझै प्रहरीले समाउन सकेको छैन । गत २०७१ असार ७ देखि जबरजस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका माझी गत साउन २७ गते आइतबार दिउँसै कारागारको पर्खाल नाघेर भागेका थिए । कारागारभित्रै बिजुली मर्मत गरिरहेको अवस्थामा भर्याङको प्रयोग गरि पर्खाल नाघेर फरार भएको घटना सार्वजानिक भएको थियो ।