सिरहा/ प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउतले गतवर्ष २०७५ वैशाखमा दलित बालबालिकालाई अभिभावकत्व ग्रहण गरे पनि जिम्मेवारी अनुसारको पठन–पाठनको व्यवस्था मिलाउन नसकेको पाइएको छ । 
 
गतसाल २०७५ वैशाख ५ गते प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल तथा प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले सिरहाको कल्याणपुर नगरपालिकास्थित राम दुलारी माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको उद्घाटन समारोहमा अशिक्षालाई समाप्त गर्न कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट बाहिर नरहुन् भनी पछि परेका कम से कम एक जना बालबालिकालाई विद्यालयसम्म पुर्याउने नीतिअनुरूप कल्याणपुर नगरपालिकाका १५ जना बालबालिकको अभिभावकत्व ग्रहण गरेर ती बालबालिकाको पठन–पाठनको लागि खर्चको व्यवस्था गर्ने बताइएको थियो ।
 
प्रधानमन्त्री केपी ओलीले कल्याणपुर नगरपालिका वडा नं. ११ का भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक डोम र दिनेश मण्डल खत्वेकी छोरी रूपाकुमारी मण्डल खत्वेको अभिभावकत्व ग्रहण गरे । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विनोद महराका छोरा राहुलकुमार महराको अभिभावकत्व ग्रहण गरे भने प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले लालबाबु मण्डल (खत्वे)का छोरा सोनुकुमार मण्डल (खत्वे) को अभिभावकत्व ग्रहण गरेका थिए ।
 
त्यस्तै इन्द्र मल्लिककी छोरी मनिष कुमारी मल्लिकको अभिभावकत्व सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले लिएका थिए । त्यस्तै केन्द्रीय बालकल्याण समितिका अध्यक्ष तारा धितालद्वारा आर्यन साह, प्रिन्स गोस्वामी, सिमाङ्गी कु. साह, अंशु यादव, अमृताकुमारी मण्डल, कृष्णकुमार मण्डल, सुशान्त यादव, मो. सकिल अन्सारी, रविन्द्रकुमार मण्डल र करिना ठाकुर गरी १० जनाको अभिभावकत्व लिने घोषणा गरेका थिए । 
 
अभिभावकत्व ग्रहण गरेका बालबालिकालाई पढाइमा लाग्ने सम्पूर्ण खर्च दिने घोषणा गरिएको थियो । त्यसमध्ये प्रधानमन्त्री तथा शिक्षामन्त्रीद्वारा संयुक्तरूपमा प्रथम पटक नै २० हजार रुपैयाँ र त्यसपछि पटक–पटकका रकम विद्यालयमार्फत् नै उपलब्ध गराउँदै आएको छ भने प्रमुख जिल्ला अधिकारीले पनि अभिभावकत्व ग्रहण गरेका विद्यार्थीलाई पढाइ खर्च दिइरहेका छन् ।
 
केन्द्रीय बालकल्याण समितिले अभिभावकत्व ग्रहण गरेका १० जना विद्यार्थीलाई ७ हजारका दरले विद्यार्थीको खातामा पठाउँदै आएका छन् तर, प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले सोनुकुमार मण्डल खत्वेको अभिभावकत्व ग्रहण मात्र गरे तर हालसम्म पठन–पाठनको जोहो गरेका छैनन् । आखिर किन ? मुख्यमन्त्री राउतले अभिभावकत्व ग्रहण गरे तर, कुनै खर्च त परै जाओस् हालसम्म अभिभावकत्व ग्रहण गरेका बच्चाको अवस्थासमेत बुझ्न कुनै चासो देखाएका छैनन् ।
 
प्रदेश २ का मुख्यमन्त्री राउतले कल्याणपुर नगरपालिका वडा नं. ११ बस्ने पिता बिनोद मण्डल (खत्वे) र आमा शिलादेवी मण्डल (खत्वे)का छोरा सोनुकुमार मण्डलको पढाइखर्च पाउन नजिकैको माछापुच्छ्रे बैङ्कमा खोलेको खातामा पटक–पटक बुझ्दा जाँदा रकम नपाएपछि आशा मर्दै गएको दुःखेसो पोखेका छन् ।