बेलबारी/ धनकुटाको राजारानीमा आयोजित अग्नि वसुन्धरा स्मृति नवौं टुबोर्ग रारा गोल्डकप २०७६ को उपाधि सगरमाथा युथ क्लब मोरङले हातपारेको छ ।
बुधबार भएको फाइनल खेलमा चर्च ब्वाइज क्लब काठमाण्डौंलाई २—० को गोलअन्तरले पराजित गर्दै सगरमाथा क्लब विजयी भएको हो । उपाधिका लागि दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरे तापनि पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेको थिएन । खेलको ७२ औं मिनेटमा सगरमाथा क्लबका मनोज राईले पहिलो गोल गरेका थिए । त्यसैगरी ७९ औं मिनेटमा सगरमाथाकै भूवन बस्नेतले दोस्रो गोल गरेका थिए ।
उपाधिसँगै विजेतालाई नगद २ लाख र ट्रफी प्रदान गरिएको छ भने उपविजेता चर्चब्वाइज काठमाडौंलाई १ लाख नगद पुरस्कार तथा ट्रफी प्रदान गरिएको छ । खेलको म्यान अफ द म्याच सगरमाथाका मनोज राई घोषित भएका थिए । त्यसैगरी उत्कृष्ट गोलरक्षक सगरमाथाकै पूर्ण चेम्जोङ घोषित भएर १० हजार पाएका छन् ।
त्यस्तै चर्च ब्वाइजका छिरिङ गुरुङ बेस्ट डिफेण्डर, चर्च ब्वाइजकै विवेक पौडेल बेस्ट मिडफिल्डर, सगरमाथाका भूवन बस्नेत बेस्ट स्ट्राइकर घोषित हुँदै जनही १०–१० हजार पाउन सफल भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथाका विष्णु सुनुवार घोषित भएका भए । उनले नगद २० हजार पाउन सफल भए । प्रतियोगिताको उदीयमान खेलाडी आयोजक रारा क्लबका नरेन्द्र विक घोषित भएका थिए । उनले पनि १० हजार पुरस्कार पाएका थिए ।
उत्कृष्ट प्रशिक्षकमा सगरमाथाका रवि गुरुङ घोषित भएका थिए । त्यसैगरी प्रतियोगितामा सवाधिक दुई गोल गरेर दाउफिन्स एफसीका पेटेङ्गाले नगद १५ हजार पाएका थिए । सगरमाथाले रारा गोल्डकपको लगातार तीन पटक उपाधि हातपारेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले पुरस्कार तथा प्रमाण–पत्र वितरण गरेका थिए । कार्यक्रम आयोजक रारा क्लबको सभापतित्वमा सम्पन्न भएको थियो ।