अभिनेत्री करिश्मा मानन्धरको बेला–बेला विभिन्न कारणले चर्चा चल्ने गर्छ । कुनै बेला उनका फिल्म हिट हुन्थे, त्यो बेला दर्शकहरूले उनकै चर्चा गर्थे । त्यसपछि करिश्मा अमेरिका पुगेर काम गर्न थालिन् । त्यतिबेला पनि उनकै चर्चा भयो ।

नेपाल फर्किएर फिल्म लाइनमा लागिन् तर खासै प्रगति भएन । त्यतिबेला पनि उनको चर्चा नै भयो । करिश्मा नयाँ शक्ति पार्टीमा लागिन्, उनको फेरि चर्चा भयो । नयाँ शक्तिको कार्यक्रम सञ्चालन गर्दा अतिथिहरूको नाम गल्ती भनेपछि उनको फेरि चर्चा भयो ।

त्यसपछि करिश्मा कक्षा ८ मा पढ्न थालिन् । यसमा झन् चर्चा नहुने कुरै भए । करिश्माले अस्ति एसईई दिइन्, त्यतिबेला पनि सबैभन्दा बढी चर्चा उनकै भयो । अहिले फेरि करिश्माको नयाँ चर्चा चलेको छ बजारमा । 

नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य रहेकी उनी नयाँ शक्ति सङ्घीय समाजवादी फोरमसँग मिलेर समाजवादी पार्टी बन्दा उनी उपस्थित भइनन् । पार्टीमा उनको भूमिका पनि के हुने स्पष्ट छैन । त्यसपछि फेरि करिश्माको चर्चा शुरु भएको छ । जे होस् करिश्मा सधैँ चर्चामै रहन्छिन् । भनिन्छ नि, नाम होस् या बदनाम होस् तर गुमनाम नहोस् ।