फिल्म ‘कबड्डी’ को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ निर्माण हुने भएको छ ।
फिल्मको औपचारिक घोषणा भइसकेको छ । फिल्मलाई यसअघिका दुईवटा सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नेछन् । स्वजातीय विवाह र अन्तरजातीय प्रेमसम्बन्धको अन्तरद्वन्द्व रहने फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लखेका हुन् ।
फिल्ममा अभिनेता दयाहाङ राई, कर्मा शाक्य, अभिनेत्री उपासना सिंह ठकुरीसँगै रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सनविक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्कीलगायतका स्टार कलाकारहरूको अभिनय रहनेछ ।
बाँसुरी फिल्म्सको निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको फिल्मलाई शैलेन्द्र डि कार्कीले खिच्नेछन् । आउँदो जेठ ५ गतेबाट छायाङ्कनका लागि फ्लोरमा जाने फिल्ममा ‘कबड्डी कबड्डी कबड्डी’ मा रङ्गकर्मी अनुप बराल कोचका रूपमा रहेका छन् ।

निर्माण युनिटका अनुसार फिल्मलाई उपयुक्त समय हेरेर भदौदेखि तिहारसम्ममा प्रदर्शनमा ल्याइनेछ । निमेष श्रेष्ठको सम्पादन रहने फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियारको लगानी रहनेछ ।