नेपाली फिल्महरूमा प्रायःजसो प्रहरीको चरित्र नकारात्मक रूपमा प्रस्तुत गरिएको पाइन्छ । सम्राट सापकोटाद्वारा निर्देशित फिल्म ‘कप्स’ ले भने प्रहरीलाई सकारात्मक चरित्रमा प्रस्तुत गरेको छ ।

नेपाल प्रहरीले अपराध अनुसन्धानमा विश्वमा राम्रो छवि बनाएकाले त्यही विषयलाई फिल्ममा समेटिएको निर्देशक सापकोटाले बताएका छन् । उनले प्रहरीले राम्रो काम गरेको भए पनि उनीहरूमाथि आमनागरिकको हेराइ र बुझाइ किन नकारात्मक बनिरहेको छ भन्ने विषयमा फिल्म केन्द्रित रहेको बताए ।

पहिलो पटक निर्देशन गरेका सापकोटाले यसअघि धेरै फिल्म अभिनय गरेका थिए । यही जेठ १७ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा डिएसपीको भूमिकामा अनुपविक्रम शाहीले अभिनय गरेका छन् । अनुपलाई कप्समा एउटा सक्षम र देशभक्त प्रहरीको रूपमा प्रस्तुत गरिएको पनि निर्देशक सापकोटाले बताएका छन् ।

फिल्ममा अनुपविक्रमसँगै सन्दिपा लिम्बू, अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी, निरुता स्याङ्तान, रोशन सुवेदी, सुन्दर श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ । कप्स ‘पोलिटिक्स, पुलिस र पब्लिक’ मा केन्द्रित रहेको बताइएको छ । मुलुकमा बढ्दो, अपहरण, बलात्कार, हत्या, गुण्डागर्दीले समाजमा निम्त्याएका समस्या र त्यसलाई नियन्त्रण गर्न प्रहरीले भोग्ने गरेका चुनौतीको सेरोफेरोमा फिल्म बनेको निर्माण पक्षको दाबी छ । राम शाक्यले निर्माण गरेको यो फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, विपिन मल्लको सम्पादन, स्वयम्भुराज शाक्यको सङ्गीत छ ।