दमक/ प्राविधिक अध्ययनबिनै झापाको गौरादह बजार निर्माणमा जुटेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

गौरादह बजारमा रहेका पीपलका बोटहरू काटेपछि स्थानीयबासीले विरोधका स्वरहरू उरालिन थालेका हुन् । प्रदेश सरकारले गौरादह बजारका लागि १ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले विनियोजन गरेको बाहेक नगरपालिकाबाट ३० लाखसमेत विनियोजन गरी अत्याधुनिक बजार निर्माण गर्नेतर्फ स्थानीय सरकार लम्किएको छ ।

निर्माण सम्पन्न भएपश्चात् नमूना बजार कस्तो बन्ला भन्ने अड्कलबाजी हुन थालेको छ । यद्यपि बजार समितिले कुन प्रकारको बजार बनाउन चाहेको हो भन्ने नक्शाङ्कनसमेत सार्वजनिक नगरेको स्थानीयको आरोप छ । नयाँ बजार निर्माणसँगै डिपूबाट पूर्वतर्फ बैगुन्धुरा जाने सडक खण्डको बीचमा डिभाइडर निर्माण थालिएको छ ।

उक्त डिभाइडर निर्माण गरिएको ठाउँमा बाटोको चौडाइ साँघुरो भएको भन्दै स्थानीयबासीले चासो व्यक्त गरेका छन् । यतिबेला सामाजिक सञ्जालमा यो विषयले प्राथमिकता पाउन थालेको छ । सामाजिक सञ्जालमा स्थानीय देवेन्द्र खड्का लेख्छन्, ‘मूल सडकहरूमा ट्राफिक नियमानुसार ३० मिटर चौडाइ भएका सडकहरूमा मात्र डिभाइडर राख्न मिल्ने सडक विभागको नियम रहेको छ । सडक डिभिजन कार्यालयले निर्माण कार्य थालिसकेको सडकमा पुनः अर्को योजना ल्याइनु गलत भएको उनले फेसबुकमा उल्लेख गरेका छन् ।

स्थानीय व्यवसायी भुपाल कट्वाल हतारमा विकास निर्माण कार्य सञ्चालन गर्नु नहुने भन्दै जनप्रतिनिधिले यस्तो कुरालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउँछन् । गौरादह सङ्घर्ष समितिका संयोजक राजकुमार दाहाल सामाजिक सञ्जालमा व्यङ्ग्य गर्दै लेख्छन्, ‘यो गौरादहका जनप्रतिनिधिको पुरुषार्थ हो र प्राविधिक कर्मचारीले गरेको विवेकशील कार्यको ज्वलन्त नमूना हो । यस सम्बन्धमा नगरप्रमुख रोहित साहसँग बुझ्न खोज्दा उनले प्रतिक्रिया दिन चाहेनन् । बजार समितिले गरिरहेको कार्यमा आफूलाई खासै जानकारी नभएको उनले बताए ।