विराटनगर/ १ नम्बर प्रदेशस्तरीय ११ वटा खेलकुद प्रतियोगिता प्रदेशभित्रका विभिन्न जिल्लाहरूमा हुने भएको छ । 

प्रदेशको सामाजिक विकास मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार जेठ १५ देखि विभिन्न ११ वटा खेलकुद प्रतियोगिता शुरु हुने भएको हो । 

खेलकुद प्रतियोगितामार्फत् खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक विकास मन्त्रालयको सहकार्य र सहयोगमा उक्त प्रतियोगिता हुन लागेको युवा तथा खेलकुद महाशाखा प्रमुख राजेन्द्र बुढाथोकीले बताए । उनका अनुसार ११ वटा खेलकुद प्रतियोगिता जेठ १५ देखि २९ गतेसम्म विभिन्न जिल्लाहरूमा हुनेछ ।

जिल्लास्तरीय प्रतियोगितामा छनौट हुँदै आएका खेलाडीहरूले प्रदेशस्तरीय प्रतियोगिताहरूमा भाग लिनेछन् । मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा ११ वटा खेलकुदमा प्रदेशभरिका २ हजार ३ सय ८८ जना खेलाडीहरूले प्रत्यक्ष रूपमा भाग लिनेछन् । मन्त्रालयले ११ वटा खेलकुद प्रतियोगिता गर्न २ करोड ७४ हजार रुपैयाँ बजेट निकासा गरेको छ । 

महिला कवड्डी प्रतियोगिता सङ्खुवासभाको खाँदबारीमा र पुरुष कवड्डी झापाको काँकडभिट्टामा हुनेछ । महिला कवड्डी  जेठ १५ देखि १८ गतेसम्म हुनेछ भने पुरुषको जेठ २१ देखि २४ गतेसम्म हुनेछ । त्यसैगरी क्रिकेट सुनसरीको इनरुवामा जेठ २७ देखि ३१ गतेसम्म हुनेछ । ब्याडमिण्टन खोलखुम्बुको सल्लेरीमा, टेवुल टेनिस उदयपुरको गाईघाटमा, तेक्वान्दो काँकडभिट्टामा, एथलेटिक्स इटहरीमा, कुस्ती विराटनगरको जतुवामा, उसु इलाममा, कराते विराटनगर र डोरीतान मोरङको बूढीगङ्गामा हुनेछ । 

यसैगरी राष्ट्रियस्तरको बहिरा क्रिकेट प्रतियोगिता जेठ १५ देखि १९ गतेसम्म विराटनगरमा हुनेछ । उक्त प्रतियोगितामा देशभरिका आठवटा बहिरा टिमको सहभागी रहनेछन् । 
महाशाखा प्रमुख बुढाथोकीका अनुसार अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल र मुख्यमन्त्री कप पनि चालू आर्थिक वर्षमा

सञ्चालन गर्ने जानकारी गराए । प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश खेलकुद बोर्ड गठन गर्ने तयारी गरेको जानकारी दिए । ‘प्रदेश सभामा प्रदेश खेलकुद ऐन २०७५ प्रदेश सभाबाट स्वीकृत भई प्रमाणीकरणको अन्तिम चरणमा रहेको छ’ मन्त्री घिमिरले भने, ‘सो ऐनको स्वीकृतिपछि खेलकुद बोर्ड गठन हुनेछ ।’