उदयपुर । उदयपुरमा सञ्चालित प्रदेशस्तरीय टेबुलटेनिस प्रतियोगिताको उद्घाटन खेलमा चार टिम र दुई डबल्स विजयी भएको छ । सदरमुकाम गाईघाटको बोक्से कवर्ड हलमा शुक्रबारदेखि सञ्चालन भएको खेलमा महिला र पुरुषका गरी चार टिम तथा पुरुषतर्फ दुई डबल्सले जित हात पारेको हो ।

प्रतियोगिताको उद्घाटन १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए । खेलले मानव स्वास्थ्यमा प्रत्यक्ष लाभ दिने मात्र नभई नयाँ सम्बन्ध जोड्ने र सम्बन्ध कायम राख्न ठूलो भूमिका निर्वाह गर्ने मन्त्री घिमिरेले बताए । खेलको विकाससँगै देशको विकास र उन्नति पनि हुने गर्छ । सो अवसरमा मन्त्री घिमिरेले खेलको माध्यमबाट धेरै फाइदा लिन सकिने बताउँदै आयोजक तथा प्रतियोगीहरूलाई प्रतियोगिता सफलताको शुभकामना दिएका थिए ।

पहिलो दिनको खेलमा महिला टिमतर्फ सोलुखुम्बु र मोरङ बीचको खेलमा सोलुखुम्बुलाई ३–२ अङ्कले पछि पार्दै मोरङ्ले जित हात पारेको थियो । पुरुष टिमतर्फ भोजपुर र मोरङबीचको खेलमा मोरङलाई ३–० अङ्कले पछि पार्दै भोजपुर विजयी भएको छ भने सुनसरी र झापाबीचको खेलमा झापालाई ३–१ ले पछि पार्दै सुनसरीले जित हात पारेको आयोजकले जनाएको छ ।
त्यसैगरी डबल्सतर्फका खेलमा सुनसरी र मोरङबीचको खेलमा ३–१ अङ्ककोे अन्तरले सुनसरीले जित हात पारेको छ भने मोरङ र सुनसरीबीचको खेलमा ३–१ अन्तरले सुनसरीले जित हात पारेको प्रमुख निर्णायक रोशन दत्तले बताए ।

सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ को आयोजना तथा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला खेलकुद विकास समिति उदयपुरको सहयोगमा प्रतियोगिता सञ्चालित छ । प्रतियोगितामा सुनसरी, झापा, भोजपुर, मोरङ, उदयपुरलगायत १० जिल्लाका खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।