बलिउडकी कोरियाग्राफर तथा फिल्म निर्माता फराह खानले आफ्नो फिल्मका कुनै पनि पात्रले धूमपान सेवन नगर्ने बताएकी छन् ।
फराहले भनेकी छन्, ‘एक फिल्म निर्माताका हिसाबले म यस्तो फैसला गरिरहेकी छु कि आगामी दिनमा मेरो फिल्ममा कसैले धूमपान गर्ने छैन ।’
आफ्ना फिल्ममा कलाकारले धूमपान गरेको बिरलै भेटिने बताउँदै ‘ओम शान्ति ओम’ मा अर्जुन रामपालको चरित्रका कारण धूमपान गराउन बाध्य भएको बताएकी छन् । आगामी दिनमा भने जुनसुकै परिस्थितिमा पनि धूमपान नगराउने वाचा गरेकी छन् । फराहका निकटका साथी साहरुख खान धूमपान गर्छन् ।
उनीहरूले धेरै फिल्ममा सँगै काम गरेका छन् । साहरुखले धूमपान नगर्न सुझाउने विषयमा उनको धारणा छ, ‘हरेक व्यक्ति आफ्ना लागि उत्तरदायी हुन्छ । उनी आफै परिपक्व व्यक्ति हुन् । मैले सल्लाह दिन पर्दैन ।’ फराह खान चाँडै रोहित शेट्टीसँग मिलेर फिल्म बनाउँदैछिन् । यो फिल्म ‘सत्ते पे सत्ता’ को रीमेक हो । यो फिल्म फराह खान निर्देशन गर्दैछिन् ।
खान हालै क्यान्सर प्यासेन्ट एड एसोसिएशन’ की सदस्य बनेकी छन् । यो सङ्गठन धूमपान सेवन गर्दा हुने हानिका विषयमा सचेतना फैलाउँछ ।