उर्लाबारी/ उर्लाबारी नगरपालिकाले सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नगरबासीहरूले सोल्टी तथा मिक्लु खोलाको प्रतिवेदन सार्वजनिकको माग गर्दै दोषी प्रमाणित भए कारबाहीको माग गरेका छन् ।

कार्यक्रममा सहभागी स्थानीय अगुवा तथा राजनीतिकर्मी ललित अधिकारीले एक वर्षअघि उर्लाबारी नगरपालिकाको वडा नं. १ मा नगरप्रमुख खड्ग फागोको संलग्नतामा खोलाको दोहन तथा अनियमितता भएको विषयमा छानबिन गर्न बनेको समितिले प्रतिवेदन एक वर्षपछिसम्म पनि सार्वजनिक नगरेकोमा आक्रोस व्यक्त गर्दै सम्बन्धित निकायले चाँडै प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

उनले छानबिन समितिले यदि खोला दोहनमा नगरप्रमुख फागोको संलग्नता पुष्टि भए कारबाही गर्न र संलग्नता नभएको सफाइ दिन छानबिन समितिलाई सुझाव दिँदै नगरप्रमुख फागोको सफलता देखेर आरोप लगाई अनिर्णयको बन्दी बनाएको हो भने नगरबासीले सडकमा निस्केर र आन्दोलित गर्ने दिन आउन सक्ने चेतावनी दिएका छन् । गत आर्थिक वर्षमा नगरपालिकाले बस्तीभन्दा खोला उच्चो भई वर्षाको समयमा बाढी बस्तीमा पस्ने र बस्ती जोखिममा पर्ने भएकोले नगरपालिकाको निर्णयअनुसार खोला च्यानलाइज गरेको थियो ।

नगरपालिकाले उक्त कार्यका लागि विनियोजन गरेको ४५ लाख रुपैया“समेत बचत गरेको नगरपालिकाको आर्थिक प्रतिवेदनमा उल्लेख गरेको छ । नगरप्रमुख फागोले खोलाबाट निकालिएको खोलाजन्य सामग्री नगरको विकासका लागि सहुलियत मूल्यमा ठेकेदारमार्फत् उपलब्ध गराएका कारण विनियोजित रकम बचत भएको नगरपालिकाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले वास्तविकता छानबिन गर्न इलाका प्रशासन कार्यालय उर्लाबारीका उपसचिव रामप्रसाद कुरुम्वाङको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति निर्माण गरेको थियो । उता छानबिन समितिले प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा गतवर्ष बुझाए पनि प्रशासन कार्यालय भने गोप्य राखेर जिम्मेवारीबाट पन्छिँदै आएको गुनासो नगर प्रमुख फागोले व्यक्त गर्दै आएका छन् ।

यसैगरी नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरबासीले विद्युत्, खानेपानी, टेलिफोन लाइन, सडक विस्तार, डुबान, उपभोक्ता समितिमार्फत् वडा अध्यक्षहरूले गर्ने अनियमितता, सार्वजनिक शौचालय अभाव, भोटेपुल क्षेत्रको बजेटमा विभेद, कृषि कर्जामा बैङ्कको विभेद, आर्थिक समृद्धिको लागि तालिम, बौलाह कुकुर आतङ्क, नगरशिक्षा शाखाका समस्या, योजना फस्र्र्यौटमा कर्मचारीहरूको ढिलासुस्ती, योजनाहरू वडा कार्यालयमै हुनुपर्ने, विकासका नाममा उपभोक्तासँग उठाइने रकमलगायत समस्याहरु प्रस्तुत गरेका थिए भने नगरप्रमुख फागो, उप–प्रमुख लक्ष्मीदेवी भण्डारी र सम्बन्धित वडाअध्यक्षहरू, विभागीय प्रमुखहरूले समस्याको समाधानका विषयमा जवाफ दिएका थिए ।