धरान/ करिब एक दशकदेखि सङ्गीत साधना गरिरहेकी सृजना कार्की पछिल्लो समय गायनसँगै सङ्गीत सिर्जना गर्न व्यस्त बन्न थालेकी छन् ।

सानैदेखि गाउने गरेकी महोत्तरी औरहीकी सृजना एकदशकदेखि भने काठमाडौंमा सङ्गीत सिक्दै आएकी छन् । ओखलढुङ्गा पुख्र्यौली भएकी सृजनाको जन्म भने विराटनगरमा भएको हो । सानैदेखि गीत–सङ्गीतप्रति आकर्षित उनी यही क्षेत्रमा लाग्न काठमाडौं पुगिन् । काठमाडौंमा प्रकाश गुरुङ, चन्दनलाल श्रेष्ठ, विनय वर्माजस्ता सङ्गीत गुरुसँग सिकेकी सृजनाले गीत रेकर्डिङ भने ढिलो गरिन् । उनले हालसम्म ८–९ वटा गीतमात्र रेकर्ड भएको बताइन् ।

उनले ७ वर्षअघि सिङ्गल ट्रयाकको एल्बम् ‘सृजना’ बजारमा ल्याएकी थिइन् । गतवर्ष हरि लम्सालको सङ्गीत र एस सिंहको शब्दमा ‘हाँसो खुशी’ बोलको गीत सार्वजनिक गरेकी उनले केही समयअघि ‘कान्छा’ बोलको पूर्वेली गीत ल्याइन् । आफ्ना केही गीतमा उनले आफै सङ्गीत पनि भरेकी छन् । मोडलिङ पनि गरेकी छन् । उनी भन्छिन्, ‘अहिले आफ्नो मात्र होइन, अरुका गीतहरू पनि कम्पोज गरिरहेकी छु ।’

उनी सङ्गीत क्षेत्रमा लाग्दा उनको परिवारले सहयोग नै ग¥यो । तर समाजले यो क्षेत्रलाई राम्रोसँग नबुझिदिँदा उनलाई दुःख पनि लाग्छ । नेपाली विषयमा एमएसम्म अध्ययन गरेकी सृजनाले केही समय स्कुलमा अध्यापन पनि गराइन् । तर दुई वर्षयता भने उनी सङ्गीतक्षेत्रमै सक्रिय छिन् । उनी भन्छिन्, ‘अब यही क्षेत्रमा सक्रिय हुन चाहन्छु ।’

लामो समय सङ्गीत सिकेर आएकी सृजनालाई कतिपय आयोजकले कार्यक्रममा गाउन बोलाउँछन् तर पैसा दिन मन गर्दैनन् । सृजना पनि पछिल्लो समय पारिश्रमिक बिना गाउनै जाँदिनन् । उनी भन्छिन्, ‘यत्रो वर्ष सिकेर गाउनु पर्छ, बिना पारिश्रमिक गाउन सकिँदैन । यो विकृति हटाउनु जरुरी छ ।’