धरान/ झरना बचत तथा ऋण सहकारी संस्था नवौं वर्ष प्रवेशको अवसरमा आयोजित चौथो अन्तर शेयर सदस्य मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि इलेक्ट्रोनिक व्यवसायीले जितेको छ ।

बुढासुब्बा फुटसलमा सोमबार आयोजित प्रतियोगितामा होटल व्यवसायीलाई ९–१ गोलअन्तरले पराजित गर्दै इलेक्ट्रोनिक्सले उपाधि जितेको हो । उपाधिसँगै नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेतामा सीमित होटल व्यवसायीले नगद १३ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको संस्थाका उपाध्यक्ष विवेक आले मगरले जानकारी दिए । इलेक्ट्रोनिक व्यवसायीले बुढासुब्बा फुटसललाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने होटल व्यवसायीले मिसमास व्यवसायीलाई पराजित गर्दै उपाधि होडमा पुगेको थियो ।

प्रतियोगितामा १२ वटा टिम सहभागी बनेका थिए । यसबीचमा पत्रकार र बैङ्कर्सबीच मैत्रीपूर्ण फुटसल प्रतियोगितासमेत गराइएको थियो । जसमा पत्रकारको टोलीले बैङ्कर्सलाई ११–३ गोल अन्तरले पराजित गरेको थियो । पत्रकार टोलीले नगद ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरेको छ ।

विजेता टिमलाई जिल्ला सहकारी सङ्घ सुनसरीका बरिष्ठ उपाध्यक्ष एवम् धरान–१५ नम्बर वडाध्यक्ष नरेश इवारम, अग्रज पत्रकार जनकऋषि राई, संस्थाका अध्यक्ष मानबहादुर मगर र उपाध्यक्ष विवेक आलेले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा मिसमास व्यवसायी ए, मिसमास व्यवसायी बी, सुनचाँदी व्यवसायी, मासु व्यवसायी, होटल व्यवसायी, झरना साकोस, बुढासुब्बा फुटसल, कस्मेटिक व्यवसायी, बस व्यवसायी, फेन्सी व्यवसायी, र इलेक्ट्रोनिक व्यवसायी सहभागी थिए ।