जिरोपोइन्ट/ आगामी असोज ३ र ४ गते २० औँ मिस्टर धरान बडीबिल्डिङ च्याम्पियनसिप २०७६ हुने भएको छ ।

सुनसरी जिल्ला बडीबिल्डिङ एण्ड फिटनेस सङ्घको आयोजनामा हुने उक्त च्याम्पियनसिपमा धरानका प्रतियोगीहरूले भाग लिने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

प्रतियोगितामा पहिलो दिन प्रि–जजिङ राउण्ड हुने बताइएको छ । प्रि–जजिङ राउण्ड ५५, ६०, ६५ र ७० केजी तौलसमूहका ६–६ जना प्रतियोगीलाई छानेर दोस्रो दिन हुने फाइनलमा प्रतिस्पर्धामा लगिने सुनसरी जिल्ला बडीबिल्डिङ एण्ड फिटनेस सङ्घका अध्यक्ष चन्दन श्रेष्ठले बताए ।

प्रतियोगिताको समग्रमा प्रथम हुनेलाई १ लाख, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई ३० हजार र चौथो हुनेलाई २० हजार नगदसहित ट्रफी र प्रमाण–पत्र प्रदान गरिने जानकारी दिइएको छ ।

यसका साथै तौल समूहतर्फ ४ वटै तौलसमूहका दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार र ५ हजार प्रदान गरिने बताइएको छ । कार्यक्रमको आकर्षणको रूपमा महिला बडीबिल्डरहरूको प्रदर्शनी पनि रहने बताइएको छ ।

विगत २०२७ सालबाट शुरु भएको प्रतियोगिता विभिन्न समस्याका कारण २०६९ सालमा स्थगित भएको थियो । उक्त प्रतियोगितालाई निरन्तरता दिन असोजमा २० औँ संस्करण हुन लागेको हो । पत्रकार सम्मेलनमा आगामी फागुनमा १ नम्बर प्रदेश स्तरीय च्याम्पियनसिपको आयोजना गरिनेसमेत बताइएको छ ।